राजसंस्थाको पक्षमा राजनीतिक माहौल बनाउन भारत जाने तयारीमा पूर्वराजा ज्ञानेन्द्र शाह

आइतबार २७ पुस २०८२
काठमाडौ / तीनमहिना अघि झापा पुग्नुभएका पूर्वराजा ज्ञानेन्द्र शाह दोस्रोपटक भारत जाने तयारी गर्नुभएको छ । नेपालमा फेरि राजतन्त्र फर्कन सक्ने चर्चा चलिरहेको बेला पूर्वराजा ज्ञानेन्द्र भारत जान लाग्नुभएको हो । उच्चस्रोतका अनुसार उहाँ माघको दोस्रो साता उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटघाट गर्न लखनउ जान लाग्नुभएको हो । यसअघि उहाँ भारतको सिलगढी पुगेर विभिन्न राजनीतिक भेटघाट गर्नुभएको थियो ।
करिब ७ देखि ९ दिन भारतमै बिताउने तयारीमा रहनुभएका ज्ञानेन्द्रले उत्तरप्रदेशमा राजनीतिक भेट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ । पूर्वराजाको टोली जनकपुर हुँदै लखनउ जानेछ । भारतको सीमा सुरु भएदेखि पूर्वराजाको सुरक्षा व्यवस्था उत्तरप्रदेश सरकारले गर्नेछ ।
अत्यन्तै गोप्य रहेको अबको भ्रमणमा नेपालमा हिन्दुराज्य र राजतन्त्रको विषयमा छलफल हुनेछ । राप्रपा, दुर्गा प्रसार्इंलगायतले राजतन्त्र ल्याउने आन्दोलन गर्ने चेतावनी दिएको बेला पूर्वराजा ज्ञानेन्द्र परिवार उत्तरप्रदेश जान लागेको हो । नेपाली राजनीतिमा जेन–जी आन्दोलनपछि केही जेन–जी पुस्ताले नेपालमा राजतन्त्र र हिन्दुराज्य ल्याउने पहल गरिरहेका छन् । सोही मेसोमा पूर्वराजा झापा बसेर सूक्ष्म राजनीति गरिरहनुभएको छ ।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा झापामै रहने पूर्वराजाले झापास्थित हिमालयन टी गार्डेनमा गोप्य रूपमा विभिन्न तहका नेतासँग कुराकानी गरिरहनुभएको बताइएको छ । त्यसैक्रममा उहाँ नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे छिमेकी मित्रसँग छलफल गर्न भारत जान लाग्नुभएको हो । उच्चस्रोतका अनुसार माघ पहिलो साता भ्रमण तालिका आउनेछ ।
यसअघि राजावादीको आन्दोलन विफल भएपछि भदौ ५ गते पूर्वराजा शाह झापा पुग्नुभएको थियो । त्यसपछि कात्तिक १९मा लामो समय बसाइको लागि भारत जानुभएको थियो । निर्मलनिवास स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र परिवार अभैm करिब दुई महिना झापा रहनुहुने कार्यक्रम छ । झापा बसाइको क्रममा उहाँले पूर्वाञ्चल र मध्यतराईका केही जिल्लामा राजनीतिक भेटघाट गर्ने कार्यक्रमलाई जारी राख्दै आउनुभएको छ ।
नितान्त पारिवारिक भ्रमण भनिए पनि गोप्य रूपमा राजनीति चलखेल र भारतसँग सम्बन्ध बनाउन पूर्वराजाले लगातार भारत भ्रमण जारी राख्नुभएको छ । हाल झापामा पूर्वरानी कोमल, छोरी प्रेरणा, धीरेन्द्र पुत्रीत्रय पूजा, दिलासा र सिताष्मा, राजीव शाही, निजी सचिव सागर तिमल्सिना, संवाद सचिव डा. फणिराज पाठकलगायतका परिवार बसिरहेका छन् ।
विगतमा भएको आन्दोलनको समीक्षा र अबको राजनीतिलगायतका विषयमा अध्ययन गर्न पूर्वराजा ज्ञानेन्द्र र उहाँको परिवार भारत जान लाग्नुभएको स्रोतको भनाइ छ । यसअघि सिलगढी भ्रमणमा पनि पूर्वराजाले राजनीतिक भेटघाट गर्नुभएको थियो । भारत भ्रमणमा उहाँ केही सुरक्षाकर्मीसहित एक्लै जाने गर्नुभएको छ । नाती हृदयन्द्रलाई राजगद्दीमा राख्ने सपना बोकेका पूर्वराजा ज्ञानेन्द्रले पछिल्लो समय जेन–जी पुस्तासँग कुुराकानी गरिरहनुभएको छ ।
तिहारको टीकाको दिन बहिनी शोभाको घर शोभा कुञ्जबाट बाहिरिएलगत्तै जेन–जी पुस्तासँग भेट गर्नुभएको थियो । सो भेटघाटपछि निर्मल निवास उत्साही बनेको छ । आफूभन्दा पनि नाति हृदयन्द्रलाई राजगद्धीमा राख्ने चाहना राख्नुभएका ज्ञानेन्द्रले हिमानी ट्रस्टमार्फत सामाजिक कार्यक्रम आयोजना जारी राख्नुभएको छ ।
अमेरिकामा अध्ययनरत नाती हृदयन्द्र शाह केही समयअघि पोखरा, जुम्ला भ्रमण र केही सार्वजनिक कार्यक्रममा सहभागी भएको देखेर राजावादीले अब राजा ल्याउने भन्दै आन्दोलन गरेका थिए । दुर्गा प्रसाईंको समूहले पनि राजतन्त्र ल्याउने विषयमा आन्तरिक तयारी गरिरहेका छन् । source news of nepal
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE