बेरोजगारी, सुकुम्बासी र शहरी बेथितिविरुद्ध स्वतन्त्र नागरिक अभियानको घोषणा

२८ असार २०८३
काठमाडौं । चर्चित पत्रकार ऋषि धमलाको नेतृत्वमा गठित स्वतन्त्र नागरिक अभियानले मुलुकमा बढ्दो बेरोजगारी, सुकुम्बासी समस्या र शहरी अव्यवस्थाविरुद्ध बृहत् अभियान सञ्चालन गर्ने घोषणा गरेको छ।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभियानका अध्यक्ष ऋषि धमलाले देशका जल्दाबल्दा समस्याको समाधानका लागि आफूहरू स्पष्ट कार्ययोजनासहित मैदानमा उत्रिएको बताए।
धमलाले बढ्दो बेरोजगारी र निराशाका कारण युवाहरू आत्मदाह गर्न बाध्य हुनु राज्यको असफलता भएको टिप्पणी गर्दै गणेश नेपालीको आत्मदाह घटनाप्रति सरकार गम्भीर बन्नुपर्ने बताए। उनले गणेश नेपालीलाई शहीद घोषणा गर्न, परिवारलाई उचित क्षतिपूर्ति, रोजगारी तथा उनकी छोरीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्न सरकारसँग माग गरे।
काठमाडौं महानगरभित्र पार्किङ अभाव र यातायात मजदुरको समस्याप्रति पनि उनले सरकारको ध्यानाकर्षण गराए। काठमाडौंमा करिब दुई लाख युवा पठाओलगायत राइड–सेयरिङ सेवामा आबद्ध रहेको उल्लेख गर्दै उनीहरूका लागि पर्याप्त पार्किङ र सार्वजनिक शौचालयको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।
धमलाले विगतका ठूला राजनीतिक दलहरू सुकुम्बासी समस्या समाधानमा असफल भएको दाबी गर्दै वर्तमान नेतृत्व पनि यसमा प्रभावकारी हुन नसकेको आरोप लगाए। विकल्पबिना संरचना भत्काउने कार्य उचित नभएको उनको भनाइ थियो।
उनले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरको जोखिमबारे आफूले पटक–पटक सम्बन्धित निकायलाई सचेत गराएको उल्लेख गर्दै खरिपाटी सारिएका सुकुम्बासीलाई ६ महिनादेखि एक वर्षभित्र स्थायी आवासको व्यवस्था गर्न र उनीहरूका बालबालिकाको शिक्षाको सुनिश्चितता गर्न माग गरे।
धमलाले प्रधानमन्त्री बालेन शाहले जनताका एजेन्डामा जनतासँगै बसेर काम गर्नुपर्नेमा जोड दिँदै आन्दोलनरत युवामाथिको धरपकडको विरोध गरे। दमनबाट समस्या समाधान नहुने उनको भनाइ थियो।
उनले स्थानीय तहलाई दलीय राजनीतिबाट मुक्त राख्न तथा विकासमा पछि परेको कर्णालीलाई प्राथमिकतामा राख्न अभियानले पहल गर्ने पनि बताए।
कार्यक्रममा अभियानका वरिष्ठ सदस्य दीप पौडेल र सदस्य ओमकुमारी शर्माले काठमाडौंमा सवारीसाधनको यथार्थ तथ्याङ्क संकलन गरी वैज्ञानिक पार्किङ व्यवस्थापन गर्न, साथै ट्राफिक कारबाहीलाई नागरिकमैत्री बनाउन आवश्यक सुधार गर्नुपर्नेमा जोड दिए।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE