मङ्गलबार २२ माघ २०८१
रौतहट / रौतहटको मौलापुरमा आगामी फाल्गुन ११ गतेदेखि मधानी महायज्ञ हुने भएको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा मौलापुर नगरपालिकाका मेयर रिना कुमारी साहले फागुन ११ गतेदेखि १५ गतेसम्म पतौरा महादेव मन्दिरमा मधानी महायज्ञ आयोजना हुने जानकारी दिएकी हुन ।
उनका अनुसार फागुन ११ गते उद्घाटन समारोह, १२ गते शिव बारात यात्रा, १३ गते मधानी विशेष पूजा समारोह, १४ गते मधानी विशेष सांस्कृतिक कार्यक्रम र १५ गते मधानी विशेष दंगल कार्यक्रम हुने छ ।
ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्त्व रहेको पतौरा पुरातात्विक महादेव मन्दिरमा महा शिवरात्रीको अवसरमा मधानी महायज्ञ हुदै आएको उनले बताइन ।
मधानी महायज्ञ भगवान शिव र पार्वतीको वैवाहिक उत्सव को प्रतीक मानिन्छ। यो महायज्ञ विशिष्ट धार्मिक परम्परासँग जोडिएकाले ब्राह्मण विना नै मन्त्र जप गरिने परम्परा रहेको बताइन्छ ।
हजारौं वर्ष पुरानो यो मन्दिरमा गरिने पूजा अनुष्ठान विशिष्ट शैलीमा सम्पन्न गरिन्छ। यस वर्षको मधानी महायज्ञमा भोजपुरी सिनेजगतका चर्चित अभिनेता रवि किशन, निर्माता विनय बिहारी, गायक रितेश पाण्डेको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
उक्त मधानी महायज्ञमा नेपाली कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने जनाइएको छ ।मधानी महायज्ञलाई भव्य रूपमा सम्पन्न गर्न विभिन्न समितिहरू गठन गरी तयारी तीव्र पारिएको आयोजक मौलापुर नगरपालीकाले जनाएको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE