काठमाडौं / नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अमेरिकाको नागरिकता त्यागेको प्रमाण पेश गर्न चुनौति दिएका छन् ।
आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले रास्वपा सभापति लामिछानेले उक्त प्रमाण अहिलेसम्म पेश गर्न नसकेको बताएका हुन् । रास्वपाले सहकारी ठगी प्रकरणमा प्रतिशोध साधेको भनी भ्रम छरेको बताउँदै उनले नागरिकता प्रकरणमा छुट दिएको कुरा नबिर्सन आग्रह गरे । उनले प्रमुख प्रतिपक्ष नेकपा (माअोवादी) पनि रास्वपाको बचाउमा उत्रिएको भन्दै– ठगीको पक्षमा उभिएको हो ? भन्दै प्रश्न गरे ।
‘ल्याउनु न त ल्याउनु । अर्को देशको नागरिकता छोडेको प्रमाण ल्याउनु न त ? त्यो चाहीँ किन नल्याएको नि अहिलेसम्म ? त्यो चाहीँ के हो नि ? छुट त पाएकै छ । त्यसैले ठगीको पक्षमा कि विपक्षमा ? प्रतिपक्षलाई पनि प्रश्न– कता उभिने हो ? चर्को कुरा गरेरमात्रै भोट बढ्ने हुँदैन । ०८४ त सबैलाई थाहा छ नि– आउँछ, जान्छ । जसलाई जनताले पत्याउँछन्, त्यसले भोट पाउँछ,’– उनले भने ।
साथै, उनले अहिले राजा फर्काउने र आन्दोलन चर्काउने नाममा विभिन्न गतिविधि भइरहेको बताए । उनले अब गणतन्त्र मास्ने, राजतन्त्र फर्काउने खिचडी नपाक्ने बताए । उनले भने, ‘राजा ल्याउने भनेर एकथरी कराउने, संघर्ष चर्काउने भनेर अर्कोथरी कराउने । प्रतिशोध भयो भनेर अर्कोथरी ‘डे वान’ देखि कराउने । ठीकै हो, यो कराउने ठाउँ त हुँदै हो । पाइन्छ कराउन । यो के हो त ? सरकार मन नपर्न सक्छ, के प्रमुख प्रतिपक्षले लोकतन्त्रको विकल्प खोजेको हो ? दक्षिणपन्थी विचार बोक्ने र वामपन्थी विचार बोक्नेको एउटै चुल्हो बलेको हो ? सहमति त्यसमा हो ? याद गर्नु होला, त्यो चुल्होमा गणतन्त्र मास्ने, राजतन्त्र फर्काउने खिचडी एक पाक्दैन, दुई पाक्दैन, तीन पाक्दैन । सम्भव छैन । यो २१औं शताब्दी हो, के गर्न राजा फर्काउने ?’स्रोत रिपोर्टस नेपाल







WRITE COMMENTS FOR THIS ARTICLE