पुलिसलाई एमएम कपको उपाधि

विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनलमा पुलिसले अघिल्ला दुई संस्करणको विजेता आर्मीलाई २४ रनले हराउँदै उपाधि उचालेको हो।
एमएम कप फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको उपाधि जित्न सफल पुलिसले चार लाख नगदसहित ट्रफी र आर्मीले दुई लाख रूपैयाँ प्राप्त गर्यो। पुलिसले २४० रनको लक्ष्य दिएको थियो। तर, आर्मी ४८औं ओभरमा २१५ रनमा नै समेटिन पुग्यो। पहिलो विकेटका लागि ५८ रनको साझेदारी हुँदा आर्मीले राम्रो सुरुआत पायो। ओपनर इमरान शेख २४ रन हुँदा आर्मीको साझेदारी तोडिएको हो। उनको इनिङमा दुई चौका र एक छक्का रह्यो।
तर, अर्का ओपनर हिमान्शु दत्तले ६३ रनको अर्धशतकीय योगदान दिए। उनले ८० बलमा ६ चौका र दुई छक्का प्रहार गरे। निश्चल क्षेत्रीले ३६, जितेन्द्रसिंह ठकुरीले २०, विशाल सुस्लिङले १८ र मध्य क्रमका ब्याटर नरेन साउदले २१ रन बनाए। अनुभवी ब्याटर तथा कप्तान विनोद भण्डारीले ७ रनमै आउट हुन पुगे। एक समय आर्मीले १३० रन बनाउँदा मात्र एक विकेट गुमाएको थियो। पुलिस दबाबमा देखिन्थ्यो। तर, २७औं ओभरमा हिमान्शु आउट हुन पुगे। विपिन खत्रीले उनलाई क्याच आउट गराएपछि पुलिसले खेलमा फर्किएको हो। त्यसपछि आर्मीका लागि राम्रो साझेदारी नै हुन सकेन।
दायाँ हाते मिडियम पेसर श्रवन यादवले आर्मीका कप्तान विनोद, नरेन, तुलबहादुर थापा र सुमित श्रेष्ठको विकेट लिँदै पुलिसलाई जित दिलाउन भूमिका खेले। पुलिसको बलिङमा श्रवले सर्वाधिक चार विकेट लिए। उनले १० ओभरमा ६३ रन खर्चिए। चित्र विस्टले दुई तथा विपिन खत्री र सुनिल दौल्यालले समान एक विकेट लिए। यस अघि टस हारेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभर नै खेल्दै २३९ रनमा अलआउट भयो। पुलिसका लागि मध्य क्रमका ब्याटर अरूण ऐरीले ६४ रन र कप्तान शंकर रानाले ५१ रनको अर्धशतकीय इनिङ खेले। अरूणले ८९ बलमा एक चौका र दुई छक्का प्रहार गरे।
कप्तान शंकरले ८१ बलमा एक चौका र चार छक्का हिर्काए। दीपक डुम्रेले ३६, श्रवन यादवले ३२ तथा अविनाश कर्णले १९ रन बनाए। पुलिसको सुरुआत राम्रो हुन सकेको थिएन। पाँचौं ओभरमा नै ओपनर रोहन विक २ रनमा आउट भए। उनी आउट हुँदा पुलिस ११/१ को अवस्थामा थियो। त्यसपछि पुलिसले समालिने प्रयास गर्यो। दोस्रो विकेटको लागि अविनाश र दीपकबीच ४८ रनको साझेदारी बनयो। त्यसपछि लगातार तीन विकेट पतन भयो। पुलिस ७७ रनमा ४ विकेट गुमेको अवस्थामा पुग्यो। तर, पाँचौं विकेटको लागि अरूण ऐरी र शंकर रानाले ९६ रनको साझेदारी गर्दै इनिङ उकासे। शंकरको विकेटपछि अरूण र श्रवनबीच छैटौं विकेटको लागि ४३ रनको साझेदारी भयो।
आर्मीको बलिङमा दुर्गेश गुप्ता, नरेन साउद र तुलबहादुर थापाले समान दुई विकेट लिए। विशाल सुश्लिङ, पवन कार्की र सुमित श्रेष्ठको नाममा समान एक विकेट रह्यो। प्रतियोगिताको उत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लबका नरेन साउद घोषित भए।
नरेनले २५ हजार रूपैयाँ पाए। उत्कृष्ट ब्याटर नेपाल पुलिस क्लबका शंकर राना तथा उत्कृष्ट बलर कोसी प्रदेशका प्रेम कामत घोषित भए। उत्कृस्ट बलर र ब्याटरले जनही १५ हजार रूपैयाँ पाए। फाइनलमा प्लेयर अफ द म्याच श्रवन यादव घोषित भए। उनले चार हजार रूपैयाँ पाए। एक सातासम्म भएको प्रतियोगितामा कुल ६ टोलीले प्रतिस्पर्धा गरेका थिए।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE