संविधान संरक्षण र संसदीय सर्वोच्चताका लागि निर्वाचनमा होमिएँ : शेखर कोइराला

काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संरक्षण, संसदीय सर्वोच्चता र लोकतान्त्रिक स्वतन्त्रताको पक्षमा आफू आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएको बताएका छन्।
मोरङ क्षेत्र नं. ६ अन्तर्गत विराटनगर–५ जामुनगाछीमा मंगलबार आयोजित चुनावी प्रचार–प्रसार कार्यक्रममा उनले संसदको भूमिका सुदृढ नभए मुलुकको लोकतान्त्रिक प्रणाली कमजोर हुने दाबी गरे। आम सर्वसाधारणसँगको भेटघाटमा उनले संसदमा कांग्रेसको सशक्त उपस्थिति आवश्यक रहेको उल्लेख गर्दै भने, “संसदको सर्वोच्चताका लागि मलाई संसदमा पठाउनुहोस्। संसदमा कांग्रेसको प्रभाव कमजोर भयो भने कांग्रेस पनि कम्युनिष्ट जस्तो हुने खतरा हुन्छ, जुन विराटनगरवासीले चाहेका छैनन्।”
उनले देशको वर्तमान राजनीतिक अवस्था गम्भीर रहेको बताउँदै निर्वाचनलाई जनमत संग्रहसरह रूपमा लिनुपर्ने धारणा व्यक्त गरे। “यो केवल चुनाव मात्र होइन, जनमत संग्रहजस्तै भएको छ,” उनले भने।
नयाँ राजनीतिक दलप्रति लक्षित गर्दै उनले पुराना दलविरुद्ध नकारात्मक भाष्य र अफवाह फैलाइएको आरोप लगाए। “नयाँ पार्टीले फैलाएका भ्रम चिर्न आवश्यक छ। सबै मतदाता सचेत हुनुपर्छ,” उनले भने।
विदेशमा रहेका नेपालीहरूलाई लक्षित गर्दै उनले घरपरिवारको वास्तविक अवस्था बुझेर मात्र राजनीतिक निर्णय गर्न आग्रह गरे। “घरमा समस्या पर्दा हामी यहीँ रहेका मानिसले सहयोग गर्छौं। त्यसैले यहाँको यथार्थ बुझ्न जरुरी छ,” उनको भनाइ थियो।
विराटनगर महानगरपालिकाको विकास र वित्तीय सुशासनबारे बोल्दै उनले वित्तीय आयोगले विराटनगरलाई पहिलो स्थानमा राखेको विषय गर्वको कुरा भएको बताए। महानगरको विकासमा कांग्रेसको नेतृत्व भए पनि आम नागरिकको सहयोगले सम्भव भएको उनको भनाइ छ।
जामुनगाछीदेखि सुनसरीतर्फ जोडिने हुलाकी सडक निर्माणमा भएको ढिलासुस्तीबारे स्थानीय असन्तुष्टि रहेको स्वीकार गर्दै उनले राज्यबाट भुक्तानी नपाउँदा ठेकेदार बेपत्ता भएको र त्यसपछि राज्य संयन्त्र परिचालन गरी काम अघि बढाइएको स्पष्ट पारे।
त्यसैगरी, विराटनगर क्षेत्रमा बाढी नियन्त्रणका लागि केशलिया खोला र बुढी खोलामा तटबन्ध निर्माणलाई प्राथमिकतामा राखिने उनले बताए। पश्चिम क्षेत्रका वडा नं. ४, ५, ११ र १२ मा हरेक वर्ष डुबान हुने समस्या समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE