महत्वपूर्ण खेलमा नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, फागुन ३ / अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को पुरुष ट्वान्टी–२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले दुई पटकको विश्वविजेता वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ। खेल भारतको मुम्बईस्थित वानखेडे रंगशालामा बिहान ११ बजेर १५ मिनेटमा सुरु हुनेछ।
समूह चरणका सुरुवाती दुई खेलमा पराजित भएको नेपालका लागि आजको खेल अत्यन्तै निर्णायक बनेको छ। प्रतियोगिताको दोस्रो चरणमा पुग्ने सम्भावना जीवित राख्न नेपाललाई जित अनिवार्य छ। यदि नेपाल पराजित भएमा यस संस्करणको विश्वकप यात्रा यहीँ समाप्त हुनेछ।
यता लगातार दुई जित निकालेको वेस्ट इन्डिज भने आजको खेल जित्दै ‘सुपर ८’ अर्थात् अन्तिम आठ चरणमा स्थान सुरक्षित गर्ने लक्ष्यमा रहेको छ।
खेलअघिको पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले टोलीलाई बाहिरी चर्चा र सामाजिक सञ्जालका विषयभन्दा खेल रणनीतिमा ध्यान केन्द्रित गर्न निर्देशन दिएका छन्। उनले स्पष्ट शब्दमा भने, “अब हाम्रो अगाडि दुई विकल्प मात्र छन्—उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्ने, नत्र घर फर्किने।”
विगतका तथ्यांकअनुसार नेपाल र वेस्ट इन्डिजबीच भएका पछिल्ला तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमध्ये नेपालले दुई खेल जितेको छ। यद्यपि हालको वेस्ट इन्डिज टोली सन्तुलित र आक्रामक देखिएकाले नेपाललाई कठिन चुनौती सामना गर्नुपर्ने देखिन्छ।
नेपालले आजको खेलका लागि टोली संयोजनमा केही रणनीतिक परिवर्तन गर्न सक्ने सम्भावना छ। मिस्ट्री स्पिनर शेर मल्ल र अनुभवी तीव्र गतिका बलर सोमपाल कामीलाई अन्तिम एघारमा समावेश गरिने अनुमान गरिएको छ। ब्याटिङतर्फ कुशल भुर्तेलको लय र सन्दीप लामिछानेको घुमाउरो बलिङ नेपालका लागि निर्णायक सावित हुन सक्छ।
वेस्ट इन्डिजका कप्तान शाइ होप र स्पिनर अकिल होसेन नेपाली टोलीका लागि प्रमुख चुनौतीका रूपमा रहनेछन्। मुम्बईको ब्याटिङमैत्री मैदानमा टसले पनि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE