सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

आजपा अध्यक्ष प्रभु साहले सार्वजनिक गरे घोषणापत्र (घोषणापत्र सहित)

  • 87
  •  
  •  
  •  
  •  
  •  
  •  
    87
    Shares

शुक्रबार १ फागुन २०८२
काठमाडौं /  आम जनता पार्टी (आजपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टी अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह, वरिष्ठ पत्रकार तथा नेता ऋषिराज धमला र सहअध्यक्ष तिलक थापामगर लगायतका नेताहरूले घोषणापत्र सार्वजनिक गरेका हुन्।
घोषणापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, करको सीमा निर्धारण, निःशुल्क आधारभूत सेवा र संरचनागत सुधारका एजेन्डा अघि सारिएको छ। शासन प्रणालीदेखि अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा र वैदेशिक नीतिसम्म व्यापक परिवर्तनको प्रतिबद्धता व्यक्त गरिएको छ।
प्रत्यक्ष कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणाली
घोषणापत्रमा प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने प्रस्ताव गरिएको छ। संघ र प्रदेशमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्ने तथा निर्वाचित जनप्रतिनिधिले काम नगरेमा कार्यकालमै जनताले फिर्ता बोलाउन सक्ने ‘राइट टु रिकल’ व्यवस्था सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ।
सरकारले कुल गार्हस्थ उत्पादन (जीडीपी)को २० प्रतिशतभन्दा बढी कर लगाउन नपाउने संवैधानिक व्यवस्था गर्ने प्रस्ताव पनि समावेश गरिएको छ। गैरआवासीय र विदेशीलाई नागरिकता दिने प्रावधानको पुनरावलोकन गर्ने एजेन्डा पनि घोषणापत्रमा उल्लेख छ।
भ्रष्टाचार नियन्त्रण र न्यायिक सुधार
पार्टीले भ्रष्टाचारमाथि जनताको प्रत्यक्ष निगरानी रहने विशेष कानुनी संरचना बनाउने प्रतिबद्धता जनाएको छ। सरकारी खर्च तथा विकास आयोजनाको विवरण अनलाइनमार्फत सार्वजनिक गर्ने, नीतिगत भ्रष्टाचारमा संलग्नको सम्पत्ति जफत गर्ने र कडा कारबाही गर्ने उल्लेख गरिएको छ।
न्यायालयको पूर्ण डिजिटलीकरण, पारदर्शी नियुक्ति प्रणाली र न्यायिक सुधारका कार्यक्रम पनि घोषणापत्रमा समेटिएका छन्।
रोजगारी र युवा लक्षित कार्यक्रम
‘एक घर, एक रोजगारी’ कार्यक्रम लागू गर्ने तथा बेरोजगारलाई बेरोजगारी भत्ता दिने घोषणा गरिएको छ। नेपाललाई ‘ग्लोबल आईटी हब’ बनाउने लक्ष्यसहित युवा उद्यमीलाई १० लाखदेखि २५ लाख रुपैयाँसम्म बीउ पुँजी (सीड मनी) उपलब्ध गराउने योजना सार्वजनिक गरिएको छ।
हरेक विद्यार्थीले कम्तीमा एक उच्च प्राविधिक सीप अनिवार्य रूपमा सिक्नुपर्ने व्यवस्था गरिने उल्लेख छ।
शिक्षा, स्वास्थ्य र आधारभूत सेवा निःशुल्क
पूर्ण साक्षर राष्ट्र निर्माण, स्मार्ट कक्षाकोठा, ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रम लागू गर्ने प्रतिबद्धता गरिएको छ। स्वास्थ्य क्षेत्रमा डिजिटल हेल्थ कार्ड, गम्भीर रोगको पूर्ण निःशुल्क उपचार र प्रत्येक पालिकामा विशेषज्ञ अस्पताल स्थापना गर्ने योजना समावेश छ।
शिक्षा, स्वास्थ्य, खानेपानी र विद्युत् आधारभूत रूपमा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता पार्टीले जनाएको छ।
पूर्वाधार, ऊर्जा र आवास
मुख्य राजमार्ग स्तरोन्नति, सडक सुरक्षामा उच्च प्रविधियुक्त निगरानी प्रणाली र ठूला सहरमा व्यवस्थित सार्वजनिक पार्किङको व्यवस्था गर्ने एजेन्डा अघि सारिएको छ। राजमार्गमा अप्टिकल फाइबर विस्तारसहित डिजिटल करिडोर विकास गर्ने योजना घोषणापत्रमा उल्लेख छ।
विद्युत् उत्पादन र निर्यात वृद्धि गर्दै ‘हिमालयन ओरिजिन’ ब्रान्डमार्फत बोतलको पानी अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने दाबी गरिएको छ। भूमिहीनका लागि ‘भर्टिकल हाउजिङ’ निर्माण र योजनाबद्ध नयाँ सहर विकास गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा समेटिएको छ।
यसरी, आजपाले शासन प्रणाली सुधारदेखि सामाजिक सेवा विस्तारसम्मका महत्वाकांक्षी कार्यक्रमसहित घोषणापत्र सार्वजनिक गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x