शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

पूर्वराजा आज काठमाडौं फर्कँदै, विमानस्थल आसपास क्षेत्रमा एक महिना निषेधाज्ञा

  • 72
  •  
  •  
  •  
  •  
  •  
  •  
    72
    Shares

शुक्रबार १ फागुन २०८२
काठमाडौं / चार महिना लामो झापा बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौं फर्कँदै हुनुहुन्छ। उहाँ दिउँसो १२:४० बजे बुद्ध एयरको विमानमार्फत काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।
पूर्वराजाको आगमनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रलाई संवेदनशील घोषणा गर्दै एक महिनाका लागि निषेधाज्ञा जारी गरेको छ। प्रशासनले विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल, पार्किङ क्षेत्र लगायत सम्पूर्ण परिसरमा पाँच जनाभन्दा बढी भेला हुन, जुलुस, प्रदर्शन, धर्ना तथा सभा गर्न प्रतिबन्ध लगाएको जनाएको छ।
पूर्वराजालाई स्वागत गर्न राजावादी समूहहरूले विमानस्थल आसपास भीड जम्मा गर्ने तयारी गरेपछि सुरक्षा सतर्कता बढाइएको हो। सामाजिक सञ्जालमार्फत व्यापक आह्वान भएपछि सम्भावित भीड नियन्त्रणका लागि कदम चालिएको प्रशासनको भनाइ छ।
विमानस्थल क्षेत्र वरपर तथा रिङरोडदेखि निर्मल निवाससम्म सुरक्षा व्यवस्था कडा पारिएको छ। यद्यपि निषेधाज्ञा जारी भए पनि राजावादी समूहले विमानस्थल बाहिरबाट स्वागत कार्यक्रम गर्ने बताएका छन्।
पूर्वरानी कोमल शाह, बुहारी हिमानी शाह तथा परिवारका अन्य सदस्यहरू यसअघि नै काठमाडौं फर्किसकेका छन्। पूर्वराजा ज्ञानेन्द्र पूर्वरानी कोमलको फागुन ७ गते पर्ने ७५औँ जन्मदिनका अवसरमा काठमाडौं आउन लाग्नुभएको जनाइएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारीले विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा कुनै पनि प्रकारका जुलुस, प्रदर्शन वा भेला नगर्न आग्रह गरेका छन्। प्रशासनले अन्तर्राष्ट्रिय विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा भीडभाड हुँदा शान्ति–सुरक्षा, यातायात तथा सार्वजनिक सेवामा असर पर्न सक्ने उल्लेख गरेको छ।
यसअघि गत वर्ष फागुन २५ गते पोखराबाट काठमाडौं फर्कँदा पूर्वराजाको स्वागतमा ठूलो भीड लागेको थियो, जसका कारण उपत्यकाको यातायातसमेत प्रभावित भएको थियो।
हालै धार्मिक भ्रमणका क्रममा पूर्वराजा झापा र जनकपुर क्षेत्रको भ्रमणमा रहनुभएको थियो। पछिल्लो समय केही समूहले नेपालमा राजतन्त्र र हिन्दुराज्य पुनःस्थापनाको माग गर्दै गतिविधि बढाइरहेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x