शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

हावाहुरीको बहकावमा नपर्न थारु समुदायलाई संयोजक श्रवण थारुको अपिल

  • 132
  •  
  •  
  •  
  •  
  •  
  •  
    132
    Shares

शनिबार २४ माघ २०८२

सप्तरी / थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक श्रवण थारुले हावाहुरीजस्तै क्षणिक राजनीतिक बहकावमा नपर्न देशभरिका थारु समुदायलाई अपिल गरेका छन्। उनले समुद्रजस्तै स्थिर, शान्त र विवेकशील भएर मतदान निर्णय लिन आग्रह गर्दै अमूल्य मत खेर नफाल्न अनुरोध गरेका हुन्।
संयोजक थारुका अनुसार हावाहुरीले केही समय विनाश ल्याए पनि अन्ततः स्थिर हुनैपर्छ, जुन प्रकृतिको नियम हो। यही सन्दर्भ जोड्दै उनले अहिलेको राजनीतिक वातावरणमा भावनामा बगेर होइन, गहिरो सोच र दीर्घकालीन हितलाई केन्द्रमा राखेर निर्णय गर्नुपर्ने बताए।
उनले नयाँ र पुराना राजनीतिक दलहरूबीच खासै गुणात्मक भिन्नता नदेखिएको उल्लेख गर्दै केही नयाँ भनिएका शक्ति झनै खतरनाक रूपमा उदाउँदै गएको आरोप लगाए। “देश बनाउने स्पष्ट रणनीति भन्दा बाह्य सहयोगको भरमा पार्टी खडा गर्ने र देश लुट्ने प्रवृत्ति बढ्दै गएको छ,” उनले भने।
थारुले राजनीति ‘फोहोरी खेल’ भन्दै समाजले सधैं टाढा बस्ने तर चुनाव आएपछि मात्र सक्रिय हुने प्रवृत्तिले ठग र भ्रष्ट शक्तिलाई फाइदा पुगेको बताए। उनले धमिलो पानीमा माछा मार्ने समूहहरूले चुनावअघि नै रणनीति बनाइसक्ने र समुदाय भने चुनावपछि पाँच वर्ष पछुतो र अलाप–बिलापमै सीमित हुने अवस्था दोहोरिरहेकामा चिन्ता व्यक्त गरे।
उनका अनुसार समुदायभित्रकै केही व्यक्तिहरूले क्षणिक व्यक्तिगत लाभका लागि सिंगो समाजलाई चुनावी भुमरीमा धकेल्ने गरेको र त्यसको परिणाम समाजले सामूहिक रूपमा भोग्नुपरेको छ। “ठगी र भ्रष्टाचारको रणनीति बदलिइसकेको छ, तर हामी त्यसैलाई नयाँ परिवर्तन ठानेर फेरि दोहोर्याइरहेका छौं,” उनले टिप्पणी गरे।
संयोजक थारुले अहिले पनि रनभुल्लमा नपर्न र सचेत रहन आग्रह गर्दै जहाँ–जहाँ थारु समुदायका उम्मेदवारहरू विजयको सम्भावनामा छन्, त्यहाँ एकताबद्ध भएर जित सुनिश्चित गर्न आग्रह गरे। यसो गर्न सके संविधान संशोधनजस्ता निर्णायक चरणमा थारु समुदायको प्रभावकारी भूमिका सुनिश्चित गर्न सकिने उनको भनाइ छ।
समानुपातिक निर्वाचन प्रणालीबारे पनि देशभरिका बुद्धिजीवी र समाजसेवीहरूबीच गहिरो विश्लेषण र स्पष्ट निष्कर्ष आवश्यक रहेको उनले बताए। “हामी सधैं अरूका लागि मात्र निर्णायक बन्ने अवस्था अब बदलिनुपर्छ,” उनले जोड दिए।
उनले चुनावअघि नै स्पष्ट धारणा र निष्कर्षसहित अघि बढ्न सके थारु समुदायप्रति राज्य र राजनीतिक शक्तिहरूको दृष्टिकोण परिवर्तन हुन सक्ने विश्वास व्यक्त गरे।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x