शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

बुधबार १३ फागुन २०८२
काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले सुरक्षा, कूटनीति, पूर्वाधार, ऊर्जा, खेलकुद र प्रशासनसँग सम्बन्धित विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको रूपमा स्वीकृति दिने निर्णय गरेको छ। साथै, फागुन १८ र १९ गते भारतमा आयोजना हुने रायसिना फोरममा सहभागी हुन अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओमप्रकाश जोशीलाई स्वीकृति प्रदान गरिएको छ।
त्यसैगरी, बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानको शपथ समारोहमा नेपाल सरकारको प्रतिनिधित्व गर्दै सहभागी भएका परराष्ट्रमन्त्रीको भ्रमणलाई समर्थन गरिएको छ।
पूर्वाधारतर्फ, चीन सरकारको अनुदान सहयोगमा निर्माण तथा स्तरोन्नति हुने कलंकी–वसुन्धरा खण्डअन्तर्गतको काठमाडौं चक्रपथ सुधार आयोजनासम्बन्धी कार्यान्वयन सम्झौतामा उल्लेखित विषयहरूमा कर छुट दिने निर्णय गरिएको छ।
बैठकले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको तदर्थ समितिलाई २०८३ साल असार मसान्तसम्म निरन्तरता दिने तथा सो अवधिभित्र नयाँ कार्यसमिति गठन गर्ने गरी बाँधा अड्काउ फुकाउन आदेश जारी गर्ने निर्णय गरेको छ।
यस्तै, न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय महिलाको स्थितिसम्बन्धी आयोग (CSW) को ७०औँ सम्मेलनमा फागुन २५ देखि चैत ५ गतेसम्म सहभागी हुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिइएको छ।
खेलकुदतर्फ, फागुन १ देखि ७ गतेसम्म वीरेन्द्रनगरमा आयोजना हुने भनिएको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रतिनिधिसभा निर्वाचनपछि उपयुक्त समयमा गर्ने निर्णय गरिएको छ।
सुरक्षातर्फ, नेपाली सेनाका दुई प्रमुख सेनानीलाई महासेनानी पदमा बढुवा तथा दुई महासेनानीको सरुवा गर्ने निर्णय गरिएको छ।
ऊर्जातर्फ, केराबारी–न्यु मर्स्याङ्दी–दरौँदी करिडोर १३२ केभी प्रसारणलाइन, माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजना तथा सेतीखोला जलविद्युत् आयोजनाका प्रसारणलाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न र आवश्यक रुख, पोल हटाउन स्वीकृति दिइएको छ।
बैठकले जेन–जी परिषद् गठन गर्ने निर्णयसमेत गरेको छ।
प्रशासनतर्फ, नेपाल सरकारका सचिव डा. रामप्रसाद घिमिरे र डा. हरिप्रसाद लम्साललाई अनिवार्य अवकाशको जानकारी दिँदै उहाँहरूले पुर्‍याएको योगदानप्रति धन्यवाद ज्ञापन गरिएको छ। साथै, राजपत्रांकित विशिष्ट श्रेणीका ६ जना अधिकृतहरूको वैदेशिक भ्रमण स्वीकृत गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x