धनकुटाको हिले बजारमा आम जनता पार्टीको शक्तिशाली खबरदारी सभा सम्पन्न

शनिबार १७ माघ २०८२
धनकुटा / भ्रष्टाचार, दलाली र कर आतंकविरुद्ध खबरदारी गर्दै आम जनता पार्टी (आजपा) ले धनकुटाको हिले बजारमा भव्य चुनावी विशेष कार्यक्रम सम्पन्न गरेको छ। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आयोजित उक्त खबरदारी सभाले आम जनता पार्टीका उम्मेदवारलाई जसरी पनि विजयी गराउने दृढ प्रतिबद्धता जाहेर गरेको छ।

सभालाई सम्बोधन गर्दै आम जनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साह ले देशलाई दलाल, भ्रष्ट र माफियाको नियन्त्रणबाट मुक्त गर्न आम जनता पार्टीको उदय अपरिहार्य भएको बताउनुभयो। उहाँले पुराना दलहरूले जनताको भरोसा तोडिसकेको आरोप लगाउँदै, अब देशमा आम नागरिकको शासन व्यवस्था स्थापना गर्नुपर्ने समय आएको स्पष्ट पार्नुभयो।
अध्यक्ष साहले भ्रष्टाचार, कर आतंक र दलालमुखी राजनीतिक व्यवस्थाविरुद्ध निर्णायक संघर्ष गर्ने उद्घोष गर्दै, संसदलाई जनताको वास्तविक आवाज उठ्ने थलो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले परिवर्तन चाहने सम्पूर्ण मतदातालाई मोबाइल चुनाव चिन्हमा मतदान गर्न आह्वान गर्नुभयो।
नेता प्रेमबहादुर थापाले पनि वर्तमान दलालमुखी राजनीतिक प्रणाली जनताका समस्या समाधान गर्न पूर्ण रूपमा असफल भएको उल्लेख गर्दै, भ्रष्टाचारमुक्त समाज निर्माण, सुशासन, पारदर्शिता, रोजगारी सिर्जना तथा जनउत्तरदायी शासन प्रणाली आफ्नो प्रमुख एजेन्डा रहेको स्पष्ट पार्नुभयो। उहाँले जनताको वास्तविक आवाज संसदमा पुर्याउने संकल्प व्यक्त गर्नुभएको छ।
कार्यक्रममा आम जनता पार्टीका सह–अध्यक्ष तिलक थापा मगर, वरिष्ठ सञ्चारकर्मी ऋषि धमला, आम ट्रेड युनियनका अध्यक्ष तथा केन्द्रीय सदस्य शिव थापा र अशोक शर्मा लगायत आजपाका नेताहरूको बाक्लो उपस्थिति रहेको थियो। वक्ताहरूले यसपटक आम जनता पार्टी नै जनताको वास्तविक विकल्प भएको दाबी गर्दै परिवर्तनको पक्षमा एकताबद्ध हुन आह्वान गरेका थिए।
कार्यक्रमले धनकुटामा आम जनता पार्टीको संगठन झनै सुदृढ हुँदै गएको स्पष्ट सन्देश दिएको सहभागीहरूको भनाइ छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE