कल्याणकारी सहकारीको २६औँ वार्षिक प्रतिवेदन सार्वजनिक

शनिबार १७ माघ २०८२
काठमाडौं / कल्याणकारी सहकारी संस्था लिमिटेड, काठमाडौंले आर्थिक वर्ष २०८१/०८२ को २६औँ वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदन सहकारीको २६औँ वार्षिक साधारणसभामा सञ्चालक समितिका अध्यक्ष विरन्द्र प्रसाद चौधरी ले प्रस्तुत गरेका हुन्।
प्रतिवेदनमा “एकका लागि सबै, सबैका लागि एक” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै सहकारीले सदस्यहरूको आर्थिक सशक्तीकरण, बचत तथा ऋण प्रवाह, सामाजिक तथा शैक्षिक विकासमा निरन्तर योगदान दिँदै आएको उल्लेख गरिएको छ। विश्वव्यापी कोभिड–१९ को प्रभाव, आर्थिक मन्दी र सहकारी क्षेत्रमा देखिएका चुनौतीका बाबजुद संस्थाले घाटा नबेहोरी आर्थिक स्थायित्व कायम राख्न सफल भएको जनाइएको छ।
आर्थिक अवस्था र प्रगति
कोषाध्यक्ष डम्बर प्रसाद चौधरी ले साधारणसभामा प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार सहकारीले आर्थिक वर्ष २०८१/०८२ मा रु. २ लाख २२ हजार ४६१ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा सहकारीले रु. २ लाख ६१ हजार ९०८ नाफा कमाएको थियो।
प्रतिवेदनअनुसार सहकारीको शेयर पूँजी रु. १ करोड ३७ लाख ११ हजार ७ सय पुगेको छ। यस वर्ष बचत संकलन र ऋण लगानी दुवै क्षेत्रमा सुधार देखिएको छ। सहकारीको कुल कर्जा लगानी रु. ३ करोड ७४ लाख ६७ हजार २२९ पुगेको छ भने असुल हुन बाँकी कर्जा रु. २ करोड ७५ लाख ९० हजार ९२८ रहेको छ।
आम्दानी–खर्च विवरण
आर्थिक वर्ष २०८१/०८२ मा सहकारीको ब्याज तथा जरिवानाबाट रु. ३४ लाख ८ हजार ४५६ र अन्य आम्दानी रु. १ लाख ३२ हजार १५३ गरी कुल संचालन आम्दानी रु. ३५ लाख ४० हजार ६०९ रहेको छ।
त्यसैगरी बचत ब्याज, कार्यालय सञ्चालन तथा अन्य खर्च गरी कुल खर्च रु. ३३ लाख १८ हजार १४७ भएको प्रतिवेदनमा उल्लेख छ।
भावी योजना र लक्ष्य
आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सहकारीले आम्दानी रु. ५३ लाख ५४ हजार २५० पुर्याउने लक्ष्य लिएको छ भने अनुमानित खर्च रु. ३९ लाख ९७ हजार रहने अनुमान गरिएको छ। सेवा विस्तार, प्रविधिको प्रयोग, कर्मचारी तथा पदाधिकारी क्षमता अभिवृद्धि तालिम, प्रभावकारी वित्तीय व्यवस्थापन र सुशासनमा जोड दिने सहकारीको योजना रहेको छ।
सहकारीप्रति प्रतिबद्धता
प्रतिवेदनमा सहकारी क्षेत्रप्रति समाजमा देखिएका केही नकारात्मक घटनाले चुनौती थपिएको उल्लेख गर्दै कल्याणकारी सहकारीले सहकारीका मूल्यमान्यता, पारदर्शिता र अनुशासनअनुसार काम गरिरहेको दाबी गरिएको छ। सदस्यहरूलाई बचत तथा ऋण कारोबारमा थप सक्रिय भई संस्थालाई अझ सुदृढ बनाउन आग्रह गरिएको छ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष चौधरी तथा कोषाध्यक्ष चौधरीले सम्पूर्ण शेयर सदस्य, कर्मचारी र सरोकारवालाप्रति आभार व्यक्त गर्दै सहकारी अभियानलाई अझ मजबुत बनाउन सबैको निरन्तर सहयोग आवश्यक रहेको बताएका छन्।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE