अस्ताउँदो सूर्यलाई अर्घ दिएर आज चैती छठ पर्व मनाइँदै

काठमाडौं, चैत १० — मिथिला तथा तराई–मधेस क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चैती छठ पर्व भव्य रूपमा मनाइँदैछ। आइतबारदेखि सुरु भएको चारदिने यस पर्वको मुख्य दिनका रूपमा व्रतालुहरू विभिन्न नदी, पोखरी तथा जलाशयमा पुगेर श्रद्धा र भक्तिपूर्वक पूजा–आराधना गरिरहेका छन्।
व्रतालुहरूले घरघरमा गहुँ र चामल कुटपिस गरी तयार पारिएको पीठोबाट ठकुवा, भुसवा, खजुरिया, पेरुकियालगायतका परिकार बनाउनुका साथै फलफूल र पूजासामग्री सजाएर छठ घाटतर्फ प्रस्थान गरेका छन्। परिवारका सदस्यहरू भक्ति गीत गाउँदै सामूहिक रूपमा घाटसम्म पुग्ने परम्परा रहिआएको छ।
षष्ठी तिथिको साँझ व्रतालुहरू जलाशयमा उभिएर अस्ताउँदो सूर्यको आराधना गर्दै अर्घ अर्पण गर्छन्। यस क्रममा दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता तथा फूलसहितका सामग्री पालैपालो सूर्यलाई चढाइन्छ।
चार दिनसम्म विधिपूर्वक मनाइने यस पर्वको दोस्रो दिन ‘खरना’ पर्व मनाइएको थियो, जसअन्तर्गत व्रतालुहरूले कुलदेवता, सूर्य देवता र छठी मातालाई पूजा निम्तो दिएका थिए। श्रद्धा, शुद्धता र अनुशासनको प्रतीक मानिने छठ पर्व विशेषगरी मिथिला, तराई–मधेस तथा भारतको बिहार क्षेत्रमा अत्यन्त आस्थाका साथ मनाइने गरिन्छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE