सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

“आठ दशकको संघर्षले प्राप्त संविधानलाई भदौ आन्दोलनले गरेको क्षति निर्वाचनले पूर्ति गर्नुपर्छ”: रामवरण यादव

  • 44
  •  
  •  
  •  
  •  
  •  
  •  
    44
    Shares

बिहीबार ७ फागुन २०८२ काठमाडौ / गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवले आठ दशकको संघर्षबाट प्राप्त संविधानमाथि भदौमा भएको आन्दोलनका क्रममा पुगेको क्षतिलाई आगामी निर्वाचनमार्फत पूर्ति गर्नुपर्ने बताएका छन्। उनले फागुन २१ गते हुन गइरहेको आमनिर्वाचनलाई संविधानको संरक्षण र लोकतन्त्र सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने धारणा राखे।
प्रजातन्त्र दिवसका अवसरमा दिइएको अन्तर्वार्तामा उनले प्रजातन्त्र दिवस केवल उत्सव नभई जिम्मेवारी र आत्ममूल्यांकनको दिन भएको उल्लेख गरे। २००७, २०४६ र २०६२–६३ का जनआन्दोलनले नेपाली जनताको अधिकार स्थापित गरेको स्मरण गर्दै उनले लोकतन्त्र जनताको दीर्घ संघर्ष, त्याग र बलिदानको उपलब्धि भएको बताए।
उनका अनुसार २००७ सालको क्रान्तिले नेपाली जनतालाई अधिकारको ढोका खोलेको थियो भने त्यसपछिका आन्दोलनहरूले प्रजातान्त्रिक मूल्यलाई पुनःस्थापित गर्दै संस्थागत बनाएका हुन्। “प्रजातन्त्र जनताको सर्वोच्चता हो, जनता नै सार्वभौम हुन्,” उनले भने, “संविधानले दिएका अधिकारसँगै नागरिकले आफ्नो कर्तव्य पनि निर्वाह गर्नुपर्छ।”
भदौ घटनाले संविधानमा ‘ड्यामेज’
डा. यादवले गत भदौ २३ र २४ गते भएका घटनाले लोकतन्त्र र संविधानलाई प्रभावित पारेको उल्लेख गरे। भदौ २३ गते युवाहरूको प्रदर्शनलाई स्वाभाविक असन्तुष्टिको अभिव्यक्ति माने पनि २४ गतेको घटनाले लोकतन्त्रमा खतरा उत्पन्न गरेको उनको भनाइ थियो। उनले भने, “भदौ २४ मा भएको क्षतिलाई निर्वाचनले पूर्ति गर्न सक्ने विश्वास लिएको छु।”
युवाको भूमिका र सुशासन
लोकतन्त्रप्रति युवाको विश्वास र सहभागिता बढाउन राजनीतिक संस्कार, पारदर्शिता र जवाफदेहिता आवश्यक रहेको उनले बताए। लोकतन्त्रको सफलताका लागि सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय र समान अवसर अपरिहार्य रहेको उनको धारणा छ।
“लोकतन्त्रको सफलता नागरिकको जीवनस्तरमा सुधार, सेवा प्रवाह र पारदर्शितासँग जोडिएको हुन्छ,” उनले भने, “राजनीतिक स्थायित्व, न्यायिक स्वतन्त्रता र प्रभावकारी सेवा प्रवाहबिना लोकतन्त्र बलियो हुँदैन।”
राष्ट्रिय एकता र समावेशिता
नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतालाई लोकतन्त्रको शक्ति बताउँदै उनले सामाजिक सद्भाव, सहिष्णुता र समावेशितालाई सुदृढ बनाउन नेतृत्वले जिम्मेवार भूमिका खेल्नुपर्ने बताए। समावेशी संघीय प्रणालीमार्फत सामाजिक न्याय सुनिश्चित गर्दै समृद्ध राष्ट्र निर्माण गर्नु अहिलेको आवश्यकता भएको उनले उल्लेख गरे।
मतदातालाई आग्रह
आगामी आमनिर्वाचनलाई उनले आवधिक चुनावभन्दा पनि संविधानमाथि पुगेको क्षति सच्याउने अवसरका रूपमा चित्रित गरे। “सस्तो लोकप्रियता र चर्चाको भरमा होइन, राष्ट्रिय हितलाई केन्द्रमा राखेर मत दिनुहोस्,” उनले मतदातालाई आग्रह गरे।
अन्त्यमा उनले लोकतान्त्रिक मूल्य–मान्यतालाई जीवनशैलीका रूपमा अंगीकार गर्दै निर्वाचनमार्फत देशको स्थायित्व, समृद्धि र सुशासनका लागि सकारात्मक योगदान गर्न सम्पूर्ण नेपालीमा आह्वान गरेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x