काङ्ग्रेसमा गुट हाबी हुँदा कमजोर बन्दै संगठन

कांग्रेसले अहिले ६ लाख नयाँ सदस्यता फाराम जिल्ला, क्षेत्र हुँदै गाउँसम्म पुर्याएको जनाएको छ। २००३ सालमा बिपी कोइरालासहित केही युवाले स्थापना गरेको यो पार्टीमा हेरक महाधिवेशनपछि क्रियाशील सदस्यता लिने र दिनेक्रम बढ्दै गएको छ। नेपालको आर्थिक, राजनीतिक र सामाजिक परिवर्तनको अगुवाइ गर्दै आएको कांग्रेसले क्रियाशील सदस्य संख्या बढाउँदै लगे पनि पछिल्ला आमनिर्वाचनमा मत भने गुमाउँदै आएको छ।
कांग्रेसभित्र क्रियाशील सदस्यता वितरण निर्वाचन जित्न र संगठनलाई चलायमान बनाउनभन्दा पनि पार्टीमा नेता विशेषको प्रभाव बढाउने अस्त्र बन्दै गएको गुनासो नेताहरूले नै गर्न थालेका छन्। सहरिया मतदाताको मन जित्न पनि नसकेको कांग्रेस दूरदराजका जनताको भरोसा बन्न पनि नसकेको गुनासो छ।
संगठन चलायमान बनाउनेभन्दा पनि पार्टी कसरी कब्जा गरेर आफू र आफ्नालाई स्थापित गर्ने मनोग्रन्थीबाट नेताहरू उद्वेलित बन्दा कांग्रेसमा हरेक महाधिवेशनका बेला क्रियाशील सदस्यता विवाद थप पेचिलो बन्ने गरेको छ।
यही विवादले यस पटक पनि पुस २६ गतेदेखि तोकिएको महाधिवेशन सर्ने निश्चित भएको छ। महामन्त्री गगनकुमार थापा नेतृत्वमा क्रियाशील सदस्यता वितरण र व्यवस्थापनका लागि डेढ वर्षअघि नै कांग्रेसले समिति गठन गरेको थियो तर अहिलेसम्म नयाँ वितरण होइन, पुरानै क्रियाशील सदस्यता नवीकरणको काम पनि सकिएको छैन। समितिका सदस्य प्रकाश रसाइलीले नवीकरणको काम अन्तिम चरणमा पुगेको दाबी गरे।
धनुषा, बारा, प्युठानसहितका केही जिल्लाबाहेक सदस्यता नवीकरणको काम टुंगो लागेको उनको दाबी छ। १४औं महाधिवेशनअघि ७२ प्रतिशत क्रियाशील सदस्यता नवीकरण भएको बताउँदै उनले भने, ‘यस पटक नवीकरणको संख्या त्योभन्दा बढी हुन्छ।’
१४औं महाधिवेशनका बेला कांग्रेसले शतप्रतिशत सदस्यता थप गर्दै आठ लाख ५२ हजार बढी पुर्याएको थियो तर २०७९ मंसिरमा भएको आमनिर्वाचनमा कांग्रेसको मत बढेन। बरु अघिल्लो निर्वाचनमा भन्दा सात लाखभन्दा कम मत कांग्रेसको पक्षमा परेको थियो। जबकी कांग्रेस महामन्त्री थापाले २०७९ को निर्वाचनअघि १५ लाख नयाँ मतदाता पार्टीमा थप गर्ने उद्घोष गरेका थिए। पार्टीमा युवा आकर्षण बढाउन भन्दै १४औं महाधिवेशनमा क्रियाशील सदस्यता बढाएर दोब्बर बनाइएको हो।
कांग्रेसले २०७९ को निर्वाचनमा समानुपातिकतर्फ अघिल्लो पटकभन्दा सात लाख ५४ हजार मत गुमाएर २७ लाख १५ हजार २२५ अर्थात् २५.७१ मत मात्र पाएको थियो। समानुपातिकतर्फ कतिपय निर्वाचन क्षेत्रमा पार्टीले पाएको समानुपातिक मतभन्दा क्रियाशील सदस्य संख्या बढी भएको जानकारी दिँदै एक नेताले भने, ‘पहिला एउटा टोलमा एक जना क्रियाशील सदस्य भए पनि सबैजसो कांग्रेसका मतदाता हुन्थे। अहिले टोलभरि कांग्रेसका क्रियाशील सदस्य छन् तर निर्वाचनमा पार्टीको पक्षमा मतदान गर्ने भने घट्दै गएका छन्।’
नेताहरूले पार्टीका हरेक निकायमा आफू टिक्न र प्रभुत्व जमाउन÷जोगाउन सदस्यता बाँड्ने गरेकाले संख्या बढे पनि संगठन भने कमजोर बनेको गुनासो पार्टीभित्रै सुनिन्छ।
२०६४ सालको संविधानसभा निर्वाचनमा कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकबिच एकीकरण हुँदा क्रियाशील सदस्य संख्या पाँच लाख पुगेको थियो। संविधानसभा चुनावमा कांग्रेसले २१.१४ प्रतिशत मत पाएको थियो। १२औं महाधिवेशनबाट साढे चार लाख सक्रिय सदस्य बनाएको कांग्रेसले २०७० सालको संविधानसभा निर्वाचनमा २५.५५ मत पाएको थियो।
२०७२ सालमा भएको १३औं महाधिवेशनमा पनि सोही संख्यामा क्रियाशील सदस्य कांग्रेसका थिए। २०७४ सालमा भएको निर्वाचनमा उसले ३२.७७ प्रतिशत मत पायो। अहिले आठ लाख सदस्यता नवीकरण गर्ने भनेको कांग्रेसले ६ लाख नयाँ सदस्यता वितरणका लागि तल्लो तहमा फाराम पठाएको छ। संस्थाभन्दा गुट र व्यक्ति हाबी हुँदै जाँदा संगठन कमजोर बनेको कांग्रेसलाई विगतमा जस्तो जनताको मन जितेर मत लिन त्यति सहज छैन। source nagariknews
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE