निर्वाचनका लागि भयरहित वातावरणको प्रत्याभूति दिलाउन निर्देशन

काठमाडौ / आसन्न प्रतिनिधिसभा निर्वाचन तयारी तथा समग्र शान्ति–सुरक्षाको अवस्थाबारे राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री, मन्त्रीहरू र सुरक्षा निकायका प्रमुखसँग विशेष छलफल गरेका छन् । निर्वाचनका लागि विश्वासको वातावरण र शान्ति–सुरक्षाको अवस्था पनि सुदृढ नदेखिएको दलहरूकै जनगुनासाबिच राष्ट्रपति पौडेलले यसमा चासो व्यक्त गर्दै छलफल अगाडि बढाएका हुन् ।
छलफलपछि राष्ट्रपति पौडेलले भयरहित वातावरणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुने प्रत्याभूति दिलाउन सरकार र सुरक्षा निकायलाई निर्देशन दिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् सदस्य तथा चारै सुरक्षा निकाय प्रमुखलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले लुटिएका हतियार र जेलबाट भागेका कैदीलाई फिर्ता गराउन सक्रिय हुन पनि निर्देश गरेका छन् ।
प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपतिले शान्ति–सुरक्षा कायम गर्न र भयरहित वातावरणमा निर्वाचन हुन्छ भन्ने आश्वस्त पार्न निर्देशन गरेका छन् । उनका अनुसार राष्ट्रपति पौडेलले २४ भदौमा लुटिएका हतियार र भागेका कैदीबन्दी सबैलाई अविलम्ब फिर्तालाई गम्भीरतापूर्वक लिएर काम गर्न भनेका छन् ।
प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन सरकारले कुनै कसुर बाँकी नराख्ने बताइन् । उनले सुरक्षा निकायलाई चाहिने सम्पूर्ण साधन–स्रोत सरकारले उपलब्ध गराउने आश्वस्त पारिन् । निर्वाचनको तयारी र सुरक्षा अवस्थाका विषयमा शीतलनिवासमा गम्भीर छलफल भएको तथा चुनावको वातावरण तयार गर्न भइरहेका प्रयासको समीक्षा भएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ । ‘सबै सुरक्षा प्रमुखहरूले उच्च मनोबलका साथ सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी गराउनुभएको छ ।
चुनावको वातावरण बनाउन राजनीतिक तहबाटै पहलकदमी लिइएको छ । राजनीतिक दलहरूसँग संवादको सुरुवात भएको छ,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै उनको सचिवालयले भनेको छ, ‘फागुन २१ मा निर्धारित प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति भएको छ । तयारी अझै निरन्तर गतिमा अघि बढाइँदै छ । सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहौँ ।’
छलफलमा प्रधानसेनापति अशोकराज सिग्देल, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, नेपाल प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की सहभागी थिए । सुरक्षा निकायका प्रमुखहरूले शान्ति–सुरक्षा कायम गर्ने र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षा निकाय सक्षम रहेको बैठकमा बताए ।
कठिन परिस्थितिमा पनि विगतमा शान्तिपूर्वक निर्वाचन सम्पन्न गराएको स्मरण गराउँदै उनीहरूले सुरक्षा निकाय सम्पूर्ण रूपले निर्वाचनका लागि तयार रहेको उल्लेख गरेका थिए । शुक्रबार पत्रकार सम्मेलन गरेका नेपाली सेनाका अधिकारीहरूले विशेष परिस्थितिमा हुन लागेको भए पनि सेना चुनाव गराउन सक्षम रहेको बताएका थिए ।
नागरिक अगुवासँग राष्ट्रपतिको छलफल
सुरक्षा निकायका प्रमुखहरूसँग छलफलमा बस्नुअघि राष्ट्रपति पौडेलले ११ जना नागरिक अगुवासँग शीतलनिवासमै तीन घण्टा छलफल गरेका थिए । बिहान ९ बजेदेखि १२ बजेसम्मको छलफलमा निर्वाचनकेन्द्रित छलफल भएको त्यहाँ सहभागी राजनीतिक विश्लेषक मुमाराम खनालले बताए ।
खनालका अनुसार छलफलमा राष्ट्रपति पौडेलले तोकिएको मिति २१ फागुनमा निर्वाचन सम्पन्न हुनुपर्नेमा जोड दिँदै यसको वातावरण सबै पक्षले बनाउनुपर्ने बताएका थिए । ‘हामी सबै मिलेर निर्वाचनको वातावरण बनाउनुपर्छ । यसका लागि मैले सबै पक्षसँग छलफल अघि बढाएको छु,’ राष्ट्रपतिलाई उद्धृत गर्दै खनालले भने ।
भेटमा खनालबाहेक भारतका लागि पूर्वराजदूत लोकराज बराल, त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, प्राध्यापक कृष्ण खनाल, विश्लेषक हरि शर्मा, गेजा शर्मा वाग्ले, केशव दाहाल, इन्द्र अधिकारी, उद्धव प्याकुरेल, तुलानारायण साह र कसमस विश्वकर्मा सहभागी थिए ।
आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
सरकारले आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई मुख्य प्राथमिकतामा राखेर आफ्ना सम्पूर्ण गतिविधि केन्द्रित गरेको छ । यही क्रममा शनिबार राष्ट्रपतिको आह्वान र प्रधानमन्त्री तथा मन्त्रीहरूको उपस्थितिमा चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग शीतलनिवासमा छलफल भएको छ। छलफल निर्वाचनका लागि राजनीतिक वातावरण बनाउनेदेखि सुरक्षा अवस्था सदृढ पार्ने विषयमा केन्द्रित थियो। यस्तै, आइतबार केन्द्रीय सुरक्षा समितिको बैठकसमेत बस्दै छ। गृहमन्त्री ओमप्रकाश अर्यालले बैठक बोलाएका हुन्। गृहमन्त्री अध्यक्ष रहने समितिको बैठकमा गृह र रक्षासचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि हुनेछन्।
उक्त बैठकले केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समितिले बनाउँदै गरेको एकीकृत सुरक्षा योजनामा भएका प्रगतिको समीक्षा गरी आवश्यक पृष्ठपोषण तथा नीतिगत निर्देशन दिनेछ।गृह मन्त्रालयको शान्तिसुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका प्रमुख एवं सहसचिव आनन्द काफ्लेको नेतृत्वमा एकीकृत निर्वाचन सुरक्षा समिति गठन गरिएको छ। गृहमन्त्री अर्यालले कार्यभार सम्हाल्नासाथ यो समिति गठन गरेका हुन्। यस समितिमा चारवटै सुरक्षा निकायका प्रतिनिधि सदस्य रहनुका साथै उपसचिव रवीन्द्र अधिकारी सदस्यसचिव छन्।
यस समितिले बनाएको सुरक्षा योजना कार्यान्वयनका लागि प्रत्येक जिल्लामा पठाइनेछ। प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला एकीकृत निर्वाचन सुरक्षा समितिले उक्त योजनाको कार्यान्वयन गर्नेछ। ‘हामी पूर्ण क्षमताका साथ निर्वाचन तयारीमा जुटेका छौँ। एकीकृत निर्वाचन सुरक्षा योजना तीव्र गतिमा बन्दै छ,’ गृहमन्त्री अर्यालले भने, ‘निर्वाचन आयोगसँग पनि सघन छलफल र समन्वय भइरहेको छ। सुरक्षा निकायहरूलाई आवश्यक स्रोतसाधनको कुनै कमी नहुने गरी काम भइरहेको छ।’
भयरहित वातावरणमा चुनाव गराउन कुनै कसर बाँकी राखिन्न : प्रधानमन्त्री कार्की
चुनावको वातावरण बनाउन राजनीतिक तहबाटै पहलकदमी लिइएको छ । राजनीतिक दलहरूसँग संवादको सुरुवात भएको छ । २१ फागुनमा निर्धारित प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति भएको छ । तयारी अझै निरन्तर गतिमा अघि बढाइँदै छ । सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहौँ । स्रोत नयाँपत्रीका
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE