शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

वीरगन्ज क्षेत्रमा थपिँदै विद्युत् पूर्वाधार

  • 26
  •  
  •  
  •  
  •  
  •  
  •  
    26
    Shares

काठमाडौँ / पूर्वाधार सीमितताका कारण विद्युत् आपूर्तिमा समस्या भोगिरहेको वीरगन्ज क्षेत्रका औद्योगिक कोरिडोरमा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगहरूलाई समेत पर्याप्त विद्युत् आपूर्ति गर्ने लक्ष्यसहित नेपाल विद्युत् प्राधिकरणले उच्च क्षमताका विद्युत् प्रसारण लाइन तथा सबस्टेसनको निर्माण गरिरहेको जनाएको छ ।

वीरगन्जसहित बारा–पर्सा औद्योगिक कोरिडोरमा रहेका थप विद्युत् माग गर्ने उद्योगहरू तथा आउन सक्ने नयाँलाई समेत लक्षित गर्दै चालु रहेका प्रसारण लाइन तथा सबस्टेसनको स्तरोन्नति गर्ने नयाँ बनाउने कम भइरहेको तथा थप केही सबस्टेसन प्रस्तावित भइरहेको प्राधिकरणले जनाएको हो ।

बारा–पर्सा औद्योगिक कोरिडोरमा पर्ने सिमरा, निजगढ, वीरगन्ज, परवानीपुर, पोखरिया, प्रसौनीलगायतका प्राधिकरणले उच्च क्षमताका विद्युत् प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना क्रमिक रूपमा बनाउन लागेको प्राधिकरणले उल्लेख गरेको छ ।

प्राधिकरणले वीरगन्ज औद्योगिक कोरिडोरको समस्या समाधान गर्न बाराको पथलैया (पिलुवा) सबस्टेसनदेखि परवानीपुरसम्मको करिब १८ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइनको तार (कन्डक्टर) बदलेर नयाँ राखिरहेको छ । डबल सर्किटमध्ये एउटा सर्किटबाट विद्युत् आपूर्ति बन्द गरी पुरानो कन्डक्टर निकाली उच्च क्षमता (एचटिएलएस) को राख्ने काम भइरहेको छ ।

एउटा सर्किटको काम सकिएपछि त्यसलाई सञ्चालन गरी दोस्रो सर्किटको काम सुरु गर्ने योजना प्राधिकरणको छ । प्रसारण लाइनको स्तरोन्नति आगामी असारको पहिलो हप्ताभित्र सक्ने लक्ष्यका साथ काम भइरहेको छ । पथलैया (पिलुवा–परवानीपुर) प्रसारण लाइनबाट अहिले करिब दुई सय मेगावाट प्रवाह गर्न सकिनेमा कन्डक्टर बदलेपछि क्षमता बढेर करिब चार सय मेगावाट पुग्ने छ । हेटौँडा–पथलैया (पिलुवा) १३२ केभी प्रसारण लाइनको कन्डक्टर बदलेर क्षमता दोब्बर बनाइसकिएको छ । यसले गर्दा परवानीपुरतर्फ थप विद्युत् प्रवाहका लागि सहज हुने छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार स्थलगत अनुगमन गरी कन्डक्टर बदल्ने कार्य जतिसक्दो छिटो सम्पन्न गर्न निर्माण व्यवसायी र आयोजना व्यवस्थापनलाई आग्रह गर्नुभयो । कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “प्रसारण लाइनको क्षमता स्तरोन्नतिको कामका लागि एउटा सर्किट बन्द गर्नुपर्दा वीरगन्ज क्षेत्रमा विद्युत् आपूर्तिको समस्या भएको गुनासो आइरहेको छ,” अर्कोतर्फ पथलैयाबाट थप विद्युत् पठाउन नसक्दा भारतको रक्सौलबाट विद्युत् आयात गरिरहनु परेको छ, उहाँले भन्नुभयो, “त्यसैले यस्तो संवेदशील अवस्थामा गम्भीर भएर तोकिएकै समयभन्दा अगाडि काम सक्नु पर्छ ।”

घिसिङले अब पथलैया–परपानीपुर प्रसारण लाइनको क्षमता हालकोभन्दा दोब्बर हुनेहुँदा त्यस क्षेत्रमा खपत गरी बढी भएको वर्षायामको विद्युत् रक्सौलतर्फ निर्यातसमेत गर्न सकिने जानकारी दिनुभयो । वीरगन्ज क्षेत्रका उद्योगले १३२ केभी प्रसारण लाइनबाटै विद्युत् आपूर्ति लिन सक्ने गरी उच्च क्षमताका प्रसारण लाइन तथा सबस्टेसन निर्माणाधीन रहेको पनि उहाँले जानकारी दिनुभयो ।

बाराको प्रसौनी र वीरगन्जमा गरी १३२ केभीका दुई वटा सबस्टेसन निर्माणाधीन छन् । प्रसौनी सबस्टेसन र वीरगन्ज सबस्टेसन जोडी विद्युत् आपूर्ति गर्न १३२ प्रसारण लाइन निर्माणाधीन छ ।

उता परवानीपुरबाट पोखरियासम्म १३२ केभी प्रसारण लाइन निर्माणको प्रस्ताव गरिएको छ । पोखरियामा सबस्टेसन निर्माणाधीन छ । परवानीपुर–पोखरिया करिब २१ किलोमिटर प्रसारण लाइनको डिजाइन तयार भइसकेको छ ।

हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइन अन्तर्गत बाराको निजगढमा चार सय केभी सबस्टेसन निर्माण गरी उक्त लाइनलाई रमौली हुँदै पोखरियामा पुर्‍याउने गरी अर्को आयोजना सुरु गरिएको प्राधिकरणले जनाएको छ । निजगढ, रमौली र पोखरियामा गरी चार सय केभीका तीन वटा सबस्टेसन निर्माण गरिने छ । निजगढ–रमौली–पोखरिया प्रसारण लाइनको सर्भे सम्पन्न भइसकेको छ । प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृतिको प्रक्रियामा रहेको प्राधिकरणले जनाएको छ ।

निजगढ सबस्टेसन भारतको निर्यात आयात (एक्जिम) बैङ्कको सहुलितपूर्ण ऋणमा निर्माण गरिने छ । निजगढ–रमौली ३८ किलोमिटर प्रसारण लाइन र रमौलीमा सबस्टेसन एसियाली विकास बैङ्कको सहुलितपूर्ण ऋणमा निर्माण गरिने छ । रमौली–पोखरिया २७ किलोमिटर प्रसारण लाइन र पोखरिया सबस्टेसनको लगानी स्रोत नजुटेको प्राधिकरणले जनाएको छ ।  (गोरखापत्रबाट )

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x