भैरहवा विमानस्थल : पाँच एयरलाइन्सको नियमित अन्तर्राष्ट्रिय उडान


भैरहवा / दोहाबाट कतार एयरवेज, बैंककबाट एयर एसिया, दुबईबाट फ्लाई दुबई, कुवेतबाट जजिरा तथा नेपाल एयरलाइन्सले अहिले भैरहवाबाट उडान सुरु गरेका छन् । कुनै समय असान्दर्भिक हुन लागेको भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल गुल्जार बनेको छ, स्थानीय व्यवसायी पनि उत्साहित छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा साना–ठूला सवारी साधनको घुइँचो छ । यात्रुको स्वागत तथा बिदाइका लागि आएका आफन्त र सुरक्षाकर्मीको ओहोरदोहोरले विमानस्थल व्यस्त बनेको छ । फ्लाई दुबई र कतार एयरवेजका जहाज प्रत्येक दिन दिउँसो अवतरण गर्छन् । एयर एसिया, जजिरा र नेपाल एयरलाइन्सले पनि उडान गरेका छन् । ठूला जहाज अवतरण/उडान गरेको अवलोकन गर्न भैरहवा–लुम्बिनी सडक किनारमा सर्वसाधारणको पनि भीड लाग्छ ।
भैरहवा विमानस्थलबाट नियमित उडान भइरहँदा रूपन्देही र आसपासमा आर्थिक गतिविधि बढ्ने विश्वासमा निजी क्षेत्र उत्साहित छ । विमानस्थल निर्माणसँगै पर्यटक बढ्ने विश्वासमा धेरै उद्योगी, व्यवसायीले होटल र रेस्टुरेन्टमा लगानी गरेका छन् । विमानस्थल उद्घाटनपछि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा धेरै व्यवसायी निराश बनेका थिए । धेरै होटल अधुरै छाडिएका थिए । एकैपटक पाँच वटा वायुसेवाका जहाज भैरहवा आउन थालेपछि लगानीकर्ता पुनः जुर्मुराएका छन् । उनीहरूले अधुरै छाडेका होटलको निर्माणलाई निरन्तरता दिएका छन् ।
बुद्ध जयन्तीका अवसर पारेर २०७९ जेठ २ मा विमानस्थल सञ्चालनमा आएको थियो । विमानस्थल उद्घाटनसँगै कुवेतको जजिरा एयरवेजले अन्तर्राष्ट्रिय उडान थालेको थियो ।
अन्तर्राष्ट्रिय उडान थालेको पहिलो वर्ष सन् २०२२ मा ३१ हजार ३ सय ५५ यात्रु भैरहवाबाट बाहिरिएका थिए । सन् २०२३ मा ४ हजार ७ सय ५१ जनाले यहाँबाट उडान भरेका थिए । सन् २०२४ मेमा करिब १ हजार यात्रुले यहाँबाट सेवा लिए । भैरहवाबाट १० महिना उडान गरेको जजिरा एयरवेजले प्राविधिक कारण देखाउँदै सेवा स्थगित गरेको थियो । तर अहिले फेरि सातामा तीन दिन उडान गरिरहेको छ । त्यस्तै नेपाल एयरलाइन्सले काठमाडौं–भैरहवा–दुबई सातामा चार दिन उडान गरिरहेको छ ।
थाइल्यान्डको थाई एयर एसियाले भैरहवामा गत नोभेम्बर ३ (कात्तिक १९) मा पहिलो उडान गरेको हो । त्यो दिन थाई एयर एसियाको विमान यात्रुविहीन फर्किएको थियो । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार त्यसपछि थाई एयर एसियाको विमान यात्रुविहीन हुनुपरेन । अहिलेसम्म थाई एयर एसियाको विमान यहाँ ४ पटक अवतरण भयो । दोस्रो पटक यहाँबाट उडान भर्दा ३२ यात्रु लिएर फर्किएको थियो । तेस्रो पटक ७९ र चौथो पटक ९४ यात्रु लिएर फर्कियो । ‘आउने/जाने गरेर थाई एयर एसियामार्फत अहिलेसम्म २ सय ३४ ले यात्रा गरिसके,’ तिवारीले भने, ‘उडानको प्रचार भएपछि यात्रु आउन थालेका छन् ।’ थाई एयर एसियाले सातामा एक दिन उडान गरिरहेको छ ।
स्रोत कान्तिपुर
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE