काठमाडौं / हालसम्मकै जम्बो मन्त्रिपरिषद् बनाएर आलोचना खेपिरहेका मधेश प्रदेशका मुख्यमन्त्री शतिषकुमार सिंहले राज्यमन्त्री हटाउने तयारी गरेका छन् । २० सदस्यीय मन्त्रिपरिषद् बनाएको भन्दै आलोचना भएपछि सिंहले आधा दर्जन राज्यमन्त्री हटाउने तयारी गरेको मुख्यमन्त्रीनिकट स्रोतले जनाएको छ ।

मुख्यमन्त्री सिंहले गत मंगलबार नेपाली कांग्रेसका दुई, नेकपा एमाले, जनमत र लोसपाबाट एक-एक जना गरी पाँच राज्यमन्त्री थप गरेका थिए।

१२ मन्त्रालय रहेको मधेसमा यसअघि मुख्यमन्त्रीसहित १२ मन्त्री र तीन राज्यमन्त्री थिए । यहाँ कांग्रेसले चार, एमालेले चार, जनमतले मुख्यमन्त्रीसहित ३, लोसपाले एक मन्त्रालय लिएका थिए। यिनै दलहरूबाट राज्यमन्त्रीहरू पनि नियुक्त गरिएको थियो।

मधेसमा सिके राउत नेतृत्वको जनमत पार्टी नेतृत्वमा सरकार छ। यो सरकारलाई नेपाली कांग्रेस, नेकपा एमाले र लोसपाले समर्थन गर्दै सरकारमा सहभागी छन्।

२० जनाको मन्त्रिपरिषद् गठन गरेको भन्दै सिंहलाई पार्टीले समेत स्प्रष्टीकरण सोधेको छ । जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बिहीबार सिंहलाई प्रष्टीकरण सोधेका थिए । यद्यपि राउतकै ग्रिन सिग्नलमा सिंहले राज्यमन्त्री थपेको चर्चा पनि हुने गरेको छ ।

कांग्रेस र एमालेकै सांसख समेटेर राज्यमन्त्री थपेपनि सत्ता साझेदार दलहरु असन्तुष्ट छन् । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले त सार्वजनिक रुपमा नै सिंहको आलोचन गर्दै आएका छन् । उनले राज्यमन्त्रीलाई हटाएर सरकार छरितो बनाउन माग गरेका छन् । यता एमालेले पनि यसबारेमा मुख खोलेको छैन् तर, राज्यमन्त्री हटाएमा आफूहरुको आपत्ति नहुने एमालेका नेताहरु बताउँछन् ।source – RN