शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

मधेशमा निर्णायक एकीकृत समाजवादी

  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

शनिबार, १९ जेठ, २०८१

काठमाडौ / मधेश प्रदेशमा एकीकृत समाजवादी निर्णायक रहेकाले सबै दलका नेता अध्यक्ष माधवकुमार नेपाललाई फकाउन लागीपरेका छन्।

सत्तारुढ गठबन्धनबाट बाहिरिसकेको जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता मनिष सुमनले शनिबार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भेटे। उनीसँगै जसपा नेपाल मधेश प्रदेशका नेता पनि भेटघाटमा सहभागी थिए।

यसअघि शुक्रबार बिहान प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालसँग भेटवार्ता गरे। उनीहरूले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए।

त्यसअघि एमाले, माओवादी र जनमत पार्टीका मधेशका नेताले नेपाललाई भेटेका थिए। मधेश प्रदेशका संसदीय दलका नेताहरू एमालेका सरोजकुमार यादव, माओवादीका भरतप्रसाद साह र जनमतका महेशप्रसाद यादवले भेटवार्ता गरेका थिए।

त्यसअघि बिहीबार अध्यक्ष नेपाललाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गरेका थिए। देउवा निवास बूढानिलकण्ठमा आयोजित विपक्षी दलका नेताको बैठकमा नेपाल पनि सहभागी भएका थिए।

यी सबै भेटघाटको एउटै उद्देश्य हो, मधेश प्रदेशमा सरकार बनाउनका लागि नेपालको साथ। सत्तारुढ दलले नयाँ सरकार गठनका लागि र विपक्षी दलले अहिलेकै जसपा नेपालका नेता सरोजकुमार यादव नेतृत्वको सरकारलाई टिकाउनका लागि नेपालको साथ खोजिरहेका छन्। किनकि, मधेशमा नेपाल नेतृत्वको एकीकृत समाजवादी निर्णायक भूमिकामा छ।

१०७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ। अहिले एकीकृत समाजवादी जतातिर गयो, उतैतिर बहुमत पुग्छ।

सत्तारुढ गठबन्धनमा रहेका एमालेका २५, जनमतका १३ र माओवादीका नौ सांसद छन्। तीनै पार्टीका जोडेर ४७ सांसद छन्।

त्यस्तै, कांग्रेसका २२, जसपा नेपालका १९ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नौ सांसद छन्। यो गठबन्धनमा ५० सांसद छन्, बहुमत पुग्दैन।

प्रदेश सभामा एकीकृत समाजवादीका सात सांसद छन्। नागरिक उन्मुक्ति, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादीका एक-एक सांसद छन्। साना तीनै पार्टीले जसलाई समर्थन गरे पनि बहुमत पुग्दैन। यस्तो वेला निर्णायक रहेको एकीकृत समाजवादीलाई फकाउन सबै दल लागेका छन्।

दुई दिनअघि मधेश पुगेका जनतम पार्टीका अध्यक्ष सीके राउतले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गराएका थिए। त्यसमा एमाले र माओवादीले समर्थन जनाएका थिए। तीनै पार्टीका संसदीय दलका नेताबीच जनमतको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको थियो। उनीहरूले एकीकृत समाजवादी र लोसपालाई पनि सरकारमा सहभागी गराउने निर्णय गरेका थिए।

तर लोसपा भने देउवा निवासमा भएको छलफलपछि अहिलेकै मधेश सरकारलाई समर्थन गर्ने पक्षमा देखिएको छ। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले लोसपा अध्यक्ष महन्थ ठाकुरलाई भेटेर समर्थन मागेका थिए। त्यसपछि दुवै नेता देउवा निवासमा आयोजित विपक्षी दलको बैठकमा सहभागी भएका थिए।

त्यस्तै लोसपा केही समयअघि मात्रै यादव नेतृत्वको प्रदेश सरकारबाट बाहिरिएकाले निर्णयमा पुग्न सकेकाे छैन। माओवादी प्रदेश संसदीय दलका नेता भरतप्रसाद साह लोसपा नयाँ सरकार बनाउन सकारात्मक रहेको बताउँछन्। “छलफल चलिरहेको छ, एक-दुई दिनमै नयाँ सरकार बनाउन सहयोग गर्नेछ,” उनी भन्छन्।

लोसपा मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनल अहिले कसलाई सहयोग गर्ने र कसलाई नगर्ने भन्ने निर्णय नभएको बताउँछन्। “पार्टीले सही समयमा सही निर्णय लिनेछ,” सोनल भन्छन्।

एकीकृत समाजवादी पनि नयाँ गठबन्धनलाई सघाउन तयार हुने माओवादी संसदीय दलका नेता साहको भनाइ छ। एकीकृत समाजवादीका अध्यक्ष नेपालसँगको भेटपछि आफू सकारात्मक बनेको उनी बताउँछन्।

त्यस्तै, जसपा नेपालका प्रवक्ता मनिष सुमनले पनि अध्यक्ष नेपाललाई भेटेर सहयोगका लागि आग्रह गरेको बताए। “हामीले मधेशमा जसपा नेतृत्वको सरकारलाई सहयोग गर्न आग्रह गरेको छौं,” सुमन भन्छन्, “माधव नेपालले पार्टीको बैठक बसेर यस विषयमा निर्णय लिन्छौं भनेका छन्।”

एकीकृत समाजवादीले कसलाई समर्थन गर्ला? एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा पार्टी सचिवालय बैठकले कसलाई सहयोग गर्ने भन्ने विषयमा निर्णय गर्ने प्रतिक्रिया दिन्छन्। केन्द्रीय गठबन्धनमा कुनै फेरबदल नहुने भए पनि मधेश प्रदेशमा फरक परिस्थित भएकाले सचिवालय बैठकले निर्णय गर्ने खतिवडाको भनाइ छ।

“उपेन्द्रजीले मधेश प्रदेशमा सहयोग माग्नु भएको छ। अहिले हामी जसपा नेतृत्वकै सरकारमा छौं, हाम्रो मन्त्रीहरूले मधेश सरकारबाट राजीनामा दिनु भएको छैन,” प्रवक्ता खतिवडा भन्छन्, “मधेश प्रदेशमा फरक परिस्थित आएको छ, यस विषयमा पार्टी सचिवालय बैठकले निर्णय लिन्छ।”

एमाले र माओवादीले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यादव नेतृत्वको सरकारले विश्वासको मत लिनुपर्ने भएको छ। यसका लागि जेठ २१ गते प्रदेश सभाको अधिवेशन आह्वान गरिएको छ। मुख्यमन्त्री यादवले जेठ २३ गते विश्वासको मत लिने तयारी गरेका छन्। (हिमालखबरबाट)

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x