शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

श्रमिकलाई ‘वैधानिकीकरण श्रम स्वीकृति’ को व्यवस्था

  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares

 बिहीबार ३ जेठ २०८१,

काठमाडौँ / श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न प्रकृतिका भिसामा विदेश गएर कार्यरत श्रमिकलाई ‘वैधानिकीकरण श्रम स्वीकृति’ प्रदान गर्ने व्यवस्था गरेको छ । श्रम मन्त्रालयले वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि २०८१ संशोधन गर्दै अन्य प्रकृतिका भिसामा विदेश गएर सोही मुलुकमा रोजगारीका लागि भिसा पाएका श्रमिकलाई वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेको हो ।

श्रम मन्त्रालयले कार्यविधिमार्फत वैधानिकीकरण श्रम स्वीकृति प्रक्रियालाई सहज बनाएको छ । यस्तो खालको श्रम स्वीकृति माग गर्दा श्रमिकले स्वास्थ्य परीक्षण र पूर्वप्रस्थान अभिमुखीकरण तालिमको प्रमाण पेस गर्नु नपर्ने व्यवस्था संशोधित कार्यविधिमा गरिएको छ । मन्त्रालयका अनुसार श्रम स्वीकृतिका लागि अनलाइन आवेदन पेस गरेमा श्रम स्वीकृति प्रदान गर्न अख्तियारी पाएका मन्त्रालय अन्तर्गतका कार्यालय वा निकायबाट वैधानिकीकरण श्रम स्वीकृति प्रदान गरिने छ ।

सन् २०२४ को मे ३१ सम्म रोजगारीका लागि भिसा प्राप्त गरी सम्बन्धित मुलुकस्थित नेपाली कूटनीतिक नियोगमा आवेदन गरेका श्रमिकलाई सम्बन्धित नियोगले वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्न सक्ने व्यवस्था कार्यविधिमा छ । अफगानिस्तानमा जाने श्रमिकको हकमा भने सरकारको मन्त्रीपरिषद्को २०७३ असोज २० को निर्णयबमोजिम हुने छ । साथै सप्लायर कम्पनीको सिफारिसपत्र कार्यालय वा विभागको इमेलमा आउनुपर्ने छ । सरकारले वैदेशिक रोजगारमा जान खुला नगरेको मुलक र पेसाको हकमा यो व्यवस्था लागु नहुने स्पष्ट पारेको छ ।

वैधानिकीकरण श्रम स्वीकृतिका लागि अनलाइन आवेदन दिनुपूर्व अनलाइन प्रणालीमा सम्बन्धित व्यक्तिको फोटो खिचिने वा औँठा छापमध्ये कुनै एक वा दुवै लिइने छ । श्रम स्वीकृति प्रदान गरिने जुन निकाय वा कार्यालयमा कामदारको फोटो खिचिएको र जैविक विवरण लिइएको हो सोही निकाय वा कार्यालयमा मात्र छनोट गरी आवेदन दिनुपर्ने व्यवस्था संशोधित कार्यविधिमा उल्लेख छ ।

यसअघि ‘अन्य प्रकृतिका भिसामा गई वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको श्रम स्वीकृति’ शीर्षकमा यस्तो खालको श्रम स्वीकृति प्रदान गरिन्थ्यो । तर, यस्तो खालको श्रम स्वीकृति लिनका लागि श्रमिक नेपाल नै आएको हुनुपर्ने व्यवस्था थियो । साथै श्रमिकले अनिवार्य रूपमा स्वास्थ्य परीक्षण र पूर्वप्रस्थान अभिमुखीकरण तालिम लिएको प्रमाण पेस गर्नुपर्ने व्यवस्था थियो ।

त्यस्तै नेपालबाट पहिला श्रम स्वीकृति लिई कुनै पनि देशमा वैदेशिक रोजगारीमा गएको व्यक्तिबिचमा अर्को देशमा श्रम स्वीकृति लिई गएकोमा पुन पहिले श्रम स्वीकृति लिई गएको देशमा भिसा प्राप्त गरी रोजगारीका लागि जान चाहेमा भिसा प्रमाणीकरण गर्नुपर्ने व्यवस्था हटाइएको छ । पहिलाकै मुलुकमा जान चाहेमा सम्बन्धित मुलुकसँगको श्रमसम्झौता र ई–भिसाको आधारमा पुनः श्रम स्वीकृति दिन सकिने व्यवस्था गरेको छ । यसअघि भने यस्तो व्यवस्था थिएन ।

त्यस्तै व्यक्तिगत श्रम स्वीकृतिमा प्रमाणीकरण गर्ने र निर्णय गर्ने जिम्मा कम्प्युटर अपरेटर, नायबसुब्बा, भाषा अनुवादक, शाखा अधिकृत र अधिकृतलाई जिम्मा दिइएको छ । जसले भिसाको प्रकृति, जारी मिति, अन्तिम मितिको रुजु गर्ने छन् । साथै नेपाली वा अङ्ग्रेजी भाषा अनुवाद गर्ने, बायोमेट्रिक नभएको हकमा ‘फिङ्गर प्रिन्ट स्क्यान’ गर्ने छन् । यसअघिको व्यवस्था अनुसार दुई वटा तहबाट श्रम स्वीकृति प्रमाणीकरण गर्ने व्यवस्था थियो । कप्युटर अपरेटर, नायबसुब्बा र भाषा अनुवादकले कागजपत्र रुजु गर्ने र शाखा अधिकृतले श्रम स्वीकृति प्रमाणित गर्ने व्यवस्था थियो । त्यस्तै मन्त्रालयले कार्यविधि संशोधन गर्दै पुनः श्रम स्वीकृति माग गर्दा यसअघि श्रम स्वीकृति भएको निस्सा पेस गर्नु नपर्ने व्यवस्था गरेको छ ।

अनलाइन प्रणालीबाट श्रम स्वीकृति प्रदान गर्दा अनलाइन प्रणालीमा प्रविष्ट भएका सम्पूर्ण सूचनाको आधिकारिकता सम्बन्धमा प्रणालीमा विवरण प्रविष्ट गर्ने सम्बन्धित व्यक्ति वा संस्था नै पूर्ण रूपमा जिम्मेवार हुनुपर्ने कार्यविधिमा व्यवस्था गरिएको छ ।

श्रम स्वीकृतिको माग गर्दा सम्बन्धित व्यक्ति वा संस्थाले प्रणालीमा प्रविष्ट नगरी अन्य व्यक्ति वा संस्थालाई प्रविष्ट गर्न लगाएको अवस्थामा विवरण प्रविष्ट गर्ने दोस्रो व्यक्ति वा संस्थाले आफैँ वा विवरण प्रविष्ट गर्नुपर्ने व्यक्ति वा संस्थाको अनुरोधमा रद्द भइसकेका भिसालाई वैध भिसा बनाई वा अन्य प्रकारको भिसालाई गैरकानुनी रूपमा श्रमिक भिसामा परिवर्तन गरी वा अन्य व्यक्तिको कागजात सच्चाई आफैँ जस्तो हुने गरी गलत सूचना वा कागजात प्रविष्ट गरेमा अन्य व्यक्ति वा संस्थाको विवरण प्रविष्ट गर्ने दोस्रो व्यक्ति वा संस्थालाई समेत मतियारका रूपमा प्रचलित कानुनबमोजिम कारबाहीको व्यवस्था गरिएको छ ।  (गोरखापत्र अनलाइनबाट)

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x