बंगलादेशमा फेरि विद्यार्थी आन्दोलन, शिक्षामन्त्रीको राजीनामा माग गर्दै देशव्यापी प्रदर्शन

बंगलादेशमा शिक्षामन्त्री एएनएम एहसानुल हक मिलनको राजीनामा माग गर्दै ठुलो संख्यामा विद्यार्थीहरू सडकमा उत्रिएका छन् । देशमा भीषण बाढी आएका बेला पनि स्कुल बोर्ड परीक्षा जारी राख्ने सरकारको निर्णयको विरोधमा विद्यार्थी आन्दोलित भएका हुन् ।
किन विरोध?
प्रदर्शनकारीहरूको मुख्य २ वटा माग छन्:
1. बाढीबीच परीक्षा: बाढी र वर्षाका कारण परीक्षार्थीलाई समस्या भएकाबीच पनि सरकारले एचएससी परीक्षा नरोक्नु
2. मन्त्रीको विवादित टिप्पणी: शिक्षामन्त्री मिलनले एचएससी परीक्षार्थीलाई ‘फार्मका कुखुरा’ भनेर सम्बोधन गरेको आरोप। यसबारे आलोचना बढेपछि मन्त्री मिलनले आफ्नो “व्यक्तिगत” टिप्पणीबाट कसैलाई चोट पुगेको भए क्षमा मागेका छन् ।
साथै धेरै प्रश्नपत्रमा त्रुटि भएको भन्दै पनि विद्यार्थीहरू आक्रोशित छन् ।
देशव्यापी प्रदर्शन
ढाका विश्वविद्यालय अगाडिबाट सुरु भएको विरोध प्रदर्शन अहिले सावर, बरिसाल, कुमिल्ला, नारायणगंज, जशोर र बोगुराजस्ता सहरमा फैलिएको छ ।
बंगलादेशको पछिल्लो राजनीतिक पृष्ठभूमि
विद्यार्थी आन्दोलन बंगलादेशका लागि नयाँ होइन ।
२०२४ अगस्टमा भएको विद्यार्थी आन्दोलनकै कारण तत्कालीन प्रधानमन्त्री शेख हसिनाले देश छाड्नुपरेको थियो । २०२४ अगस्ट ५ मा हेलिकप्टर चढेर भारत भागेकी हसिना अहिलेसम्म स्वदेश फर्किन सकेकी छैनन् ।
आन्दोलन दमनका क्रममा १४ सय जनाको मृत्यु भएको थियो । त्यस घटनामा तत्कालीन प्रधानमन्त्री हसिनालाई दोषी ठहर गर्दै अदालतले मृत्युदण्ड सजाय सुनाइसकेको छ ।
हसिना लखेटिएपछि बंगलादेशमा पहिलोपटक गत फेब्रुअरी १२ मा आम निर्वाचन भएको थियो । निर्वाचनमा पूर्वप्रधानमन्त्री खालिदा जियाको पार्टी बीएनपीले दुईतिहाइभन्दा बढी सिट जितेको थियो । बीएनपीबाट खालिदा जियाका छोरा तारिक रहमान प्रधानमन्त्री बनेका छन् । उक्त चुनावमा प्रतिबन्धका कारण हसिनाको पार्टी अवामी लिगले भाग लिन पाएको थिएन ।
१७ वर्ष बेलायतमा निर्वासनमा बसेका तारिक रहमान २०२५ डिसेम्बर २५ मा स्वदेश फर्किएका थिए । त्यसको ५ दिनपछि नै बिरामी आमा जियाको मृत्यु भएपछि उनी पार्टी प्रमुख बनेका थिए ।
सरकारले विद्यार्थीको मागबारे अहिलेसम्म कुनै ठोस निर्णय सार्वजनिक गरेको छैन । परीक्षा तालिकाबारे पुनर्विचार हुन्छ कि भन्ने चासो बढेको छ ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE