शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

कर्णाली सरकार संकटमा: नेपाली कांग्रेसका चारै जना मन्त्रीद्वारा सामूहिक राजीनामा

Spread the love

३१ असार २०८३

सुर्खेत। कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना मन्त्रीहरूले बुधबार बिहान मुख्यमन्त्री यामलाल कँडेलसमक्ष सामूहिक राजीनामा बुझाएका छन्।

केन्द्रको सत्ता समीकरण र प्रदेश तहमा भएको पूर्वसहमतिअनुसार नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न कांग्रेस मन्त्रीहरूले राजीनामा बुझाएका हुन्।

राजीनामा बुझाउनेहरूमा आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी र ऊर्जा तथा जलस्रोत विकासमन्त्री विजया बुढा छन्।

उनीहरू २०८१ साल साउनमा कँडेल नेतृत्वको सरकारमा सहभागी भएका थिए। राजीनामा दिएका सामाजिक विकासमन्त्री भण्डारीका अनुसार मुख्यमन्त्री कँडेललाई भेटेरै राजीनामा पत्र बुझाइएको र जनसरोकारका काम प्रभावकारी रूपमा अघि बढाउन आग्रह गर्दै मार्गप्रशस्त गरिएको हो।

बुधबार बिहानका लागि बोलाइएको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक कांग्रेसका मन्त्रीहरूले बहिष्कार गरेका थिए।

मन्त्रिपरिषद् बैठक बस्नुअघि नै मुख्यमन्त्रीको कार्यालय पुगेका वनमन्त्री अधिकारी र सामाजिक विकासमन्त्री भण्डारी बैठकमा सहभागी नभई राजीनामा बुझाएर फर्किएका थिए। आर्थिक मामिलामन्त्री शाह हाल विदेश भ्रमणमा छन् भने ऊर्जामन्त्री बुढा पनि बैठकमा उपस्थित भएका थिए।

कर्णाली प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको संयुक्त गठबन्धन सरकार सञ्चालनमा छ। एमालेबाट मुख्यमन्त्री कँडेलसहित दुई मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी छन्। यसअघि एमाले र कांग्रेसबीच कर्णाली सरकारको नेतृत्व आलोपालो सञ्चालन गर्ने आन्तरिक सहमति भएको थियो।

पार्टीभित्र मन्त्रीहरूको कार्यसम्पादनलाई लिएर निरन्तर प्रश्न उठिरहेको पृष्ठभूमि र पूर्वसहमति कार्यान्वयनको चरणका कारण कांग्रेसले सरकारबाट बाहिरिने निर्णय गरेको बुझिएको छ। डिसी नेपालबाट

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x