देशका ११ जिल्लाका १०० स्थानमा बर्डफ्लु पुष्टि, उच्च सतर्कता अपनाउन सरकारको आग्रह

असार १९,२०८३
काठमाडौं, काठमाडौं उपत्यकासहित देशका ११ जिल्लाका १०० स्थानमा बर्डफ्लुको सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सङ्क्रमित, बिरामी वा मरेका पन्छीसँग प्रत्यक्ष सम्पर्क नगर्न तथा आवश्यक सावधानी अपनाउन सबैलाई अनुरोध गरिएको छ।
मन्त्रालयले पन्छीको मासु र अण्डा राम्रोसँग पकाएर मात्र खान, मृत पन्छी भेटिएमा तत्काल नजिकको पशु सेवा कार्यालयमा जानकारी गराउन पनि आग्रह गरेको छ। पशु सेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका १०० स्थानमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ।
डा. अधिकारीका अनुसार बर्डफ्लु पन्छीमा लाग्ने इन्फ्लुएन्जा भाइरसबाट हुने सङ्क्रामक रोग हो। सङ्क्रमित पन्छीसँग प्रत्यक्ष सम्पर्कमा आएका मानिसमा पनि यो रोग सर्न सक्ने भए पनि व्यक्ति–व्यक्तिबीच भने सजिलै सर्दैन।
मानिसमा कसरी सर्छ? सङ्क्रमित पन्छीलाई समात्दा वा छोएमा, पन्छीको दिसा वा सिगानसँग सम्पर्क हुँदा, पन्छी राख्ने स्थान सफा गर्दा तथा सङ्क्रमित वा मरेको पन्छीको मासु प्रयोग गर्दा मानिसमा सङ्क्रमण सर्न सक्छ।
मुख्य लक्षणहरू ज्वरो, खोकी, घाँटी दुख्ने, श्वासप्रश्वासमा समस्या, शरीर तथा मांसपेशी दुख्ने, अत्यधिक थकान, वाकवाकी, बान्ता तथा पखाला लाग्ने जस्ता लक्षण देखिन सक्छन्। यस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE