खुला प्रतिस्पर्धाबाट सात विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त

काठमाडौं, मुलुकका सात वटा विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपति रहेका प्रधानमन्त्री बालेन शाहले शुक्रबार खुला प्रतिस्पर्धाका आधारमा सातै विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका हुन्।
नियुक्ति अनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा नियुक्त भएका छन्।
यसअघि राजनीतिक भागबण्डाका आधारमा उपकुलपति नियुक्त गर्ने परिपाटीको व्यापक आलोचना भएपछि सरकारले यसपटक खुला प्रतिस्पर्धा (मेरिटोक्रेसी) मार्फत योग्य व्यक्तिको छनोट प्रक्रिया अघि बढाएको थियो।
उपकुलपति छनोटका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित सिफारिस समितिले उम्मेदवारहरूको कार्ययोजना, शैक्षिक योग्यता, अनुभव र प्रस्तुतीकरणको मूल्यांकन गरी उत्कृष्ट नामहरू प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा नियुक्ति गरिएको हो।
लामो समयदेखि नेतृत्वविहीन वा निमित्तको भरमा सञ्चालन हुँदै आएका विश्वविद्यालयमा नयाँ नेतृत्व आएपछि शैक्षिक तथा प्रशासनिक सुधार, समयमै परीक्षा सञ्चालन, नतिजा प्रकाशन र शैक्षिक क्यालेन्डर कार्यान्वयनमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE