आइतवार, साउन ३, २०८३
Sunday, July 19, 2026

प्रभु साहले भने, “दरबार हत्याकाण्डको छानबिन हुने भएपछि राष्ट्रपतिमाथि नैतिकताको प्रश्न उठिसक्यो, राजीनामा दिँदा नै उचित”

Spread the love

 

काठमाडौं, १८ असार । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले राष्ट्रपति रामचन्द्र पौडेललाई पदीय गरिमा कायम गर्न नसकेको भन्दै जिम्मेवारीबाट अलग हुन आग्रह गरेका छन् । अध्यक्ष साहले राष्ट्रपति पौडेलले राष्ट्रियता र संविधानको रक्षा गर्न नसकेको आरोप लगाउँदै तत्काल राजीनामा दिनुपर्ने माग गरेका हुन् । पूर्वमन्त्री साहले जेन–जी आन्दोलनताका राष्ट्रपति पौडेलले संसद् जोगाउन नसकेको र संविधानको संरक्षक हुँदासमेत संविधान मिचेर सुशीला कार्कीको नेतृत्वमा सरकार गठन गरेसँगै मुलुक गम्भीर संकटको भूमरीमा फसकेको गम्भीर आरोप लगाए ।

आज (बिहीबार) आजपाको सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले विदेशी नागरिकलाई नेपालमा सरकारी जागिर र वंशजको नागरिकता दिने कुरा राष्ट्रियताको प्रतिकुल भएको भन्दै यी सबै कुरामा राष्ट्रपति पौडेल वर्तमान सरकारको सारथी बनेको भन्दै तत्काल पदीय दायित्वबाट अलग हुन सुझाव दिएका हुन् । उनले विदेशीलाई सरकारी जागिरमा प्रवेशको सुरुवात गरिनु र विदेशीलाई वंशजको नागरिकता दिइनु मात्रै नभएर नेपाली पूँजी खुलेआम विदेश लैजाने बाटो खोलिएको भन्दै उनले राष्ट्रियताको सवालमा वर्तमान सरकारसामू राष्ट्रपति पौडेल निरीह सावित भएको आरोप लगाए ।

उनले भने,“राष्ट्रपतिले जेनजी आन्दोलनको बेलामा उत्पन्न परिस्थितिमा ठीक ढंगले आफ्नो भूमिका खेल्नुभएन, अहिले रास्वपाको सरकारको रबरस्ट्याम्प बन्नुभएको छ, उहाँले पदीय दायित्व पूरा गर्न सक्नुभएन, बालेन सरकारसामू निरीह देखिनुभयो, उहाँबाट अब राष्ट्रियता र संविधानको रक्षा हुन सक्दैन, अब तपाईंले पदबाट राजीनामा दिँदा नै देश र जनताको भलो हुन्छ । म राष्ट्रपतिज्यूलाई सोध्न चाहन्छु यस्तो राष्ट्रघाती विद्येयक प्रमाणीकरण गर्दा तपाईंको हात काँप्छ कि काँप्दैन ? किन यस्तो कुकर्म गर्नुभयो ? नेपाली जनताले तपाईंको यो कदमलाई क्षमा दिने छैनन् ।”

राष्ट्रपति पौडेलले यही असार ११ गते वैकल्पिक विकास वित्त परिचालन विद्येयक, २०८३ प्रमाणीकरण गरेपछि पूर्वमन्त्री साहले राष्ट्रियताको रक्षा गर्न नसकेको भनेर राजीनामा मागेका हुन् । यो विद्येयक प्रमाणीकरण भएसँगै अब कोषको कार्यकारी अधिकृत (सिईओ) विदेशी पनि हुन सक्नेछन् । यही सन्दर्भमा साहको यस्तो अभिव्यक्ति आएको हो । साहले राष्ट्रपति पौडेलले आफूले खाएको शपथको साखसमेत जोगाउन नसकेको भन्दै वर्तमान सरकारको डर, त्रास र धम्कीको कारण निरीह देखिएको टिप्पणी गरे ।

पूर्वमन्त्री साहले विधिसम्मत् नियुक्ति भएकाहरुलाई हटाउने बालेन सरकारको जालझेलको साक्षी बनेको भन्दै सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेको विषयमा पनि प्रश्न उठाए । यस्तै, साहले वर्तमान सरकारले दरबार हत्याकाण्डको छानबिन गर्ने निर्णय गरेको स्मरण गराउँदै दरबार हत्याकाण्ड हुँदा गृहमन्त्रीको जिम्मेवारीमा रहेकोले अहिले नैतिकताको आधारमा पनि राष्ट्रपतिले राजीनामा दिनु उचित हुने धारणा राखे ।

सरकारको सिफारिशमा संसद्को अधिवेशन बोलाएको तर अधिवेशन सुरु नुहँदै फेरि स्थगन् गरेर अध्यादेश ल्याउँदा मुकदर्शक बनेको भन्दै साहले राष्ट्रपतिको भूमिकाको आलोचना गरेका हुन् । उनले राष्ट्रपतिले राजीनामा दिएर बाटो तताउँदा नै देश र जनताको भलो हुने र देश पनि सही तवरले अघि बढ्ने स्पष्ट पारेका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x