कम्युनिस्ट आन्दोलन बलियो बनाउन आत्मसमीक्षा आवश्यक : माधव नेपाल

आइतबार १४ असार २०८३
काठमाडौं । नेकपाका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालका सबै कम्युनिस्ट घटकलाई आफ्ना कमजोरी र गल्तीप्रति गम्भीर आत्मसमीक्षा गर्न आग्रह गरेका छन्।
‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन यथार्थवादी सोच र व्यवहार आवश्यक रहेको बताए। जननेता मदन भण्डारीको भनाइ उद्धृत गर्दै उनले भने, ‘कुरा गरेर मात्रै चिउरा भिज्नेवाला छैन। कुरो मात्रै गरेर केही पनि हुनेवाला छैन।’
नेपालले कम्युनिस्ट पार्टीहरू कमजोर हुनुका कारणबारे निर्मम समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए। जनताको बदलिँदो मनोविज्ञान बुझ्न नसक्नु, विचार र सिद्धान्तमा विचलन आउनु, व्यक्तिवादी चिन्तन, अहङ्कार तथा भ्रष्टाचारजस्ता प्रवृत्तिले आन्दोलन कमजोर बनेको हुनसक्ने भन्दै उनले यी विषयमा गम्भीर आत्ममन्थन गर्नुपर्ने बताए।
उनले आत्मकेन्द्रित सोच र ‘मै हुँ’ भन्ने प्रवृत्तिको अन्त्य नगरेसम्म केवल भाषण र गफले मात्र परिवर्तन सम्भव नहुने चेतावनी दिए। समाजवादी क्रान्तिको वर्तमान चरणमा कम्युनिस्ट आन्दोलनलाई पुनः सुदृढ बनाउन सबै कम्युनिस्ट शक्तिहरू साझा उद्देश्यका साथ एक ठाउँमा उभिनुपर्नेमा उनले जोड दिए।
नेता नेपालले जननेता मदन भण्डारीको दूरदर्शी नेतृत्व, समस्या पहिचान गर्ने क्षमता, यथार्थमा आधारित कार्यशैली र पार्टी अनुशासनको प्रशंसा गर्दै जनताको बहुदलीय जनवाद (जबज) का धेरै पक्ष आज पनि सान्दर्भिक रहेको उल्लेख गरे।
उनले कम्युनिस्ट आन्दोलनको भविष्य सुनिश्चित गर्न मिल्न सक्ने सबै विषयमा सहकार्य र एकताको वातावरण निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता भएको निष्कर्ष प्रस्तुत गरे।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE