शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारीसहितका मुख्य पदमा चुनाव नगरी सर्वसम्मत नेतृत्व चयन गर्ने समझदारी

Spread the love

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारीसहितका मुख्य पदमा चुनाव नगरी सर्वसम्मत नेतृत्व चयन गर्ने समझदारी जुटाएको छ। पहिलो र एकताको महाधिवेशन भएकोले एकताकै सन्देश दिने सहमति सचिवालयमा जुटेको नेताहरूले बताएका छन्।

बैठकले विधान पनि संशोधन गरेको छ। अब १५१ जनाको केन्द्रीय कमिटी हुनेछ। जसमा सय जना निर्वाचित र ५१ जना मनोनीत हुनेछन्।

उपसभापति ३ जना हुनेछन्। जसमा १ महिला अनिवार्य हुने र १ जनालाई मनोनीत गरिनेछ।

यस्तै, महामन्त्री २ जना हुनेछन्। १ जनालाई मनोनीत गरिनेछ।

सहमहामन्त्री ५ जना रहने निर्णय भएको छ।  जसमा २ जना मनोनीत गर्ने समझदारी छ। यस्तै, १ जना कोषाध्यक्ष, २ जना सहकोषाध्यक्ष, १ जना प्रवक्ता र ३ जना सहप्रवक्ता मनोनीत गरिनेछ।

बिहीबार बसेको सचिवालय बैठकले सभापति, वरिष्ठ नेता, उपसभापति, महामन्त्री, सहमहामन्त्री लगायत पदाधिकारीमा सकभर चुनाव नगर्ने सहमति गरेको एक नेताले जानकारी दिए।

वरिष्ठ पदलाई पनि विधानमा समेटिएको छ। विधान महाधिवेशनपछि निर्णय गर्नेगरी यो महाधिवेशनमा यस पदलाई कायम राख्ने निर्णय भएको छ। रास्वपाले चुनावताका बालेन शाहलाई भित्र्याउन सो पद सिर्जना गरेको थियो।

‘वरिष्ठ नेतालाई सभापतिले प्रस्ताव गरेर निर्वाचित गर्नुहुन्छ, आन्तरिक चुनावमा जानु नपर्ने भनेर निर्णय गरिएको छ,’ एक पदाधिकारीले नेपालखबरसँग भने, ‘सभापति त सर्वसम्मत भइहाल्नुहुन्छ।’

‘समायोजनको मर्म अनुसार अन्य नेतालाई पनि जिम्मेवारी दिने समझदारीमा पुगिएको छ,’ उनले थपे, ‘एकता प्रक्रियामा सामेल भएका बालेन समूह, विवेकशील साझा, थारुहट, खगेन्द्र सुनार, थारुवान, थारुहट, जेनजी लगायतको प्रतिनिधित्व सुनिश्चित गरेर जान्छौँ।’

पहिलो चरणमा सभापति र सय सदस्यीय केन्द्रीय समितिको चुनाव हुनेछ। दोस्रो चरणमा निर्वाचित केन्द्रीय समितिबाट पदाधिकारीको निर्वाचन हुनेछ।

एकताको महाधिवेशन भए पनि ठूलो पार्टी हुँदा नेतृत्वमा आकांक्षी धेरै भएपछि सबैलाई समेटेर लैजान सचिवालयमा सहमति कायम गरिएको अर्का पदाधिकारी बताउँछन्।

‘लोकतान्त्रिक प्रक्रियामा जाने, एकताको सन्देश पनि दिने भन्ने भयो,’ उनले भने, ‘तर, नियमित महाधिवेशन जस्तो पनि नगर्ने, सबैपक्षलाई मिलाएर जाने भन्ने छ, सभापति, वरिष्ठ नेता, उपसभापति र महामन्त्री लगायत पदाधिकारीमा कुनै फेरबदल नगर्ने भन्ने छ।’

सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाह हुनेछन्। उपसभापतिमा अर्थमन्त्री स्वर्णिम वाग्ले, महामन्त्री भूपदेव शाह निश्चित हुनेछन्। महामन्त्री भूपदेव शाहले केही विषय टुंगो लागे पनि छलफलकै क्रममा रहेको बताए।

‘चितवनमा बस्ने ६ गतेको केन्द्रीय समितिको बैठकले एकताको महाधिवेशनको झल्को कसरी दिने भनेर निर्णय गर्नेछ,’ उनले भने।

कोषाध्यक्ष लीमा अधिकारीले पनि सचिवालय बैठकमा प्रस्ताव भएका कतिपय विषयमाथि केन्द्रीय समिति बैठकमा विस्तृत समीक्षा हुने बताइन्।

महाधिवेशनमा रवि-बालेनले सम्बोधन गर्ने 
रास्वपाको असार ७ देखि ९ सम्म हुने महाधिवेशनको उद्घाटन सत्रलाई सभापति लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने भएका छन्।

सचिवालय बैठकमा यसबारे छलफल भएको थियो। नेताहरूले दुवै जनाले सम्बोधन गर्नुपर्ने धारणा राखेपछि त्यसबारे निर्णय भएको हो।

रास्वपाले महाधिवेशनका लागि सार्वजनिक गरेको ब्यानरमा सभापति रवि र बालेनको तस्बिर राखेको छ।

‘खुला सत्रलाई प्रधानमन्त्री र सभापतिले सम्बोधन गर्र्नेे सहमति बनेको छ,’ सचिवालयका अर्का सदस्यले भने, ‘हामी उहाँहरूलाई सुन्छौँ, सांस्कृतिक कार्यक्रम सहितको खुला सत्र हुन्छ।’

उद्घाटन सकेलगत्तै नेतृत्व चयन प्रक्रिया अघि बढ्ने महामन्त्री भूपदेव शाह बताउँछन्।

‘८ गते निर्वाचन कार्यातालिका लागू हुन्छ,’ उनले भने।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x