बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

रास्वपा सभापति लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै

  • 68
  •  
  •  
  •  
  •  
  •  
  •  
    68
    Shares

शुक्रबार २६ पुस २०८१

काठमाडाैं / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनु भएको छ ।

लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले उनी आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता झाले जानकारी दिएको हो ।

अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो। अदालतको आदेशानुसार ६५ लाख धरौटी बुझाएर उनी कास्की प्रहरीको हिरासतबाट रिहा भएका थिए।

उनीसँगै उक्त मुद्दाका छ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका हुन्। लामिछाने, छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङले धरौटी रकम बुझाएर रिहा भएको कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए।

न्यायाधीश नीतिज राईको इजलासले बिहीबार सभापति लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, लीला पछाईँलाई ३७ लाख, मीना गुरूङलाई पाँच लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरूङलाई पाँच लाख र कृष्णबहादुर गुरूङलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। प्रतिवादी लीला पछाईँले भने आज धरौटी रकम बुझाउन नसकेपछि हिरासतमै रहेको अदालतले जनाएको छ।

अदालतमा दश दिनसम्म भएको थुनचेक बहसपछि प्रतिवादीहरूलाई धरौटीमा रिहा गर्न आदेश आएको हो। यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरूद्ध मुद्दा दायर गरेको थियो।

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरूद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ। धरौटीमा रिहा भएका प्रतिवादीहरूको मुद्दामा थप अनुसन्धान हुने श्रेस्तेदार खनालले बताए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x