विश्व वातावरण दिवस २०२६ आज विभिन्न कार्यक्रमसहित मनाइँदै

शुक्रबार २२ जेठ २०८३
काठमाडौं । विश्व वातावरण दिवस २०२६ आज देशभर विविध जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ। यस वर्ष ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नाराका साथ सप्ताहव्यापी रूपमा दिवस मनाउन लागिएको हो।
वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौतीप्रति सचेतना अभिवृद्धि तथा प्रकृतिमैत्री विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले देशभर विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्।
दिवसको अवसरमा वातावरण विभागले ललितपुरमा विशेष समारोह आयोजना गरेको छ। कार्यक्रममा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।
विभागका अनुसार समारोहमा विभिन्न सरकारी निकायका प्रतिनिधि, विकास साझेदार, वातावरणविद् तथा सरोकारवाला निकायहरूको उल्लेख्य सहभागिता रहनेछ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदी ले वातावरण संरक्षण, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा प्रकृतिमैत्री विकाससम्बन्धी जनचेतना बढाउने उद्देश्यले यस वर्षको विश्व वातावरण दिवसलाई विशेष महत्वका साथ मनाउन लागिएको बताएका छन्।
दिवसको अवसरमा देशका विभिन्न स्थानमा वृक्षारोपण, सरसफाइ अभियान तथा वातावरण संरक्षणसम्बन्धी चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने वातावरण विभागले जनाएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE