राप्रपाको वैधानिक हैसियत गुम्यो भन्दै डा. धवलशम्शेर राणाद्वारा पार्टी परित्याग, नयाँ दल गठनको तयारी

बुधबार २० जेठ २०८३
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेसँगै नेता डा. धवलशम्शेर राणाले औपचारिक रूपमा पार्टी परित्याग गरी नयाँ राजनीतिक दल गठनको प्रक्रिया अघि बढाएका छन्।
अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा फर्कन र महाधिवेशनमा जुट्न गरेको आह्वानलाई ‘भ्रम र शब्दजाल’ भन्दै राणाले अस्वीकार गरेका छन्। बुधबार विज्ञप्ति जारी गर्दै राणाले राप्रपाको केन्द्रीय समितिले वैधानिक हैसियत समेत गुमाइसकेको दाबी गरे।
राप्रपाले २०७८ सालमा एकता महाधिवेशन गरेको थियो। विधानअनुसार केन्द्रीय कार्यसमितिको नियमित कार्यकाल ४ वर्षको हुन्छ। विशेष परिस्थितिमा एक वर्ष थप गर्न सकिने प्रावधानअनुसार गत मंसिरमा केन्द्रीय समितिको म्याद ६ महिनाका लागि थपिएको थियो। राणाका अनुसार थपिएको अवधि पनि जेठ १९ गते सकिएकाले राप्रपाले पूर्ण रूपमा वैधानिकता गुमाएको हो।
समयमै महाधिवेशन गर्न एक वर्षअघि नै उपाध्यक्ष हेमजंग गुरुङको संयोजकत्वमा महाधिवेशन सुझाव समिति गठन गरिएको थियो, जसमा राणा सदस्य थिए। समितिले जेठभित्रै महाधिवेशन गर्न सुझाव दिए पनि नेतृत्वले चासो नदिएको राणाको आरोप छ।
अध्यक्ष लिङ्देनले महाधिवेशनको तालिका बनाउने जिम्मा राणालाई दिएको तर उनी पन्छिएको आरोप लगाएका थिए। यसको खण्डन गर्दै राणाले दर्जनौँ पटक दिएका सुझाव नेतृत्वले नसुनेको र निर्णय कार्यान्वयन नगरेको बताए।
“गलत नीतिकै कारण राप्रपा जनताबाट तिरस्कृत हुने अवस्थामा पुगेको छ। अहिले राप्रपा ‘मक्किएको र अलपत्र परेको घर’ जस्तो मात्र बाँकी छ,” राणाले विज्ञप्तिमा उल्लेख गरेका छन्।
राणाले अध्यक्ष लिङ्देनको भ्रममा नपर्न राष्ट्रवादी शक्ति र समूहलाई आग्रह गर्दै देशमा नयाँ वैकल्पिक शक्तिको आवश्यकता औंल्याएका छन्। उनले प्रजातान्त्रिक मूल्य बोकेको नयाँ राष्ट्रवादी शक्ति निर्माणका लागि देशव्यापी मोर्चा र दल गठनको आह्वान गरेका छन्।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE