कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध नेपालको तुफानी सुरुआत

आइतबार १७ जेठ २०८३
काठमाडौं । सिंगापुरमा जारी एसियन गेम्स पुरुष टी–२० क्रिकेट क्वालिफायरअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले ऐतिहासिक प्रदर्शन गरेका छन्।
चीनविरुद्धको खेलमा भुर्तेलले एकै ओभरमा लगातार ६ छक्का प्रहार गर्दै कीर्तिमानी उपलब्धि हासिल गरेका हुन्। सिंगापुर नेशनल क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि उनले नवौँ ओभरमा आक्रामक ब्याटिङ प्रदर्शन गरेका थिए।
चिनियाँ बलर जोङ युचाओले फालेको उक्त ओभरका सबै ६ बलमा छक्का प्रहार गर्दै भुर्तेलले मैदानमा सनसनी मच्चाएका हुन्। उनको विस्फोटक ब्याटिङले नेपाललाई बलियो सुरुआत दिलाएको थियो।
यस उपलब्धिसँगै कुशल भुर्तेल टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने दुर्लभ खेलाडीहरूको सूचीमा समावेश भएका छन्।
यसअघि नेपालका दीपेन्द्र सिंह ऐरीले पनि मंगोलिया र कतारविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्दै कीर्तिमान बनाएका थिए।
भुर्तेलको यो आक्रामक प्रदर्शन नेपाली क्रिकेट इतिहासकै स्मरणीय क्षणमध्ये एकका रूपमा दर्ज भएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE