दाइजो र बालविवाहविरुद्ध निरन्तर लड्ने उपसभामुख रुबीकुमारी ठाकुरको प्रतिबद्धता

आइतबार १० जेठ २०८३
बरहथवा (सर्लाही) । रुवीकुमारी ठाकुरले मधेसमा व्याप्त दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर संघर्ष जारी राख्ने बताएकी छन्।
चन्द्रनगर गाउँपालिकाले आज आयोजना गरेको बालविवाह एवं दाइजो प्रथा उन्मूलन कार्यक्रममा बोल्दै उपसभामुख ठाकुरले बालविवाह र दाइजो प्रथा मधेसबाट मात्र नभई देशैभरिबाट अन्त्य हुनुपर्नेमा जोड दिइन्।
उनले छोरीलाई बोझका रूपमा हेर्ने लैङ्गिक विभेदकै कारण बालविवाह बढिरहेको उल्लेख गर्दै मधेस समाजले छोरीलाई सम्मान गर्न सिक्नुपर्ने बताइन्। “छोरी जन्मने घरमा बोझ भित्रिएको भन्दै दुःख मान्नुहुन्न, माता सीताको जन्मभूमिमा छोरी जन्मनु त सौभाग्यको कुरा हो,” उनले भनिन्।
उपसभामुख ठाकुरका अनुसार बालविवाह र दाइजो प्रथाले विवाहपछि परिवारमा विखण्डन ल्याउने गरेको छ। पछिल्लो समय किशोरकिशोरी घर छाडेर हिँड्ने घटनातर्फ सङ्केत गर्दै उनले अभिभावकको सुझावलाई गलत नठानी संवाद र समझदारीमार्फत अघि बढ्न आग्रह गरिन्।
कार्यक्रममा नीतिमा कार्की भण्डारीले दाइजो र बालविवाह जस्ता कुरीति मधेसमा लामो समयदेखि जरा गाडेर बसेको बताइन्। उनले यस्ता सामाजिक विकृति शिक्षा र चेतनाको माध्यमबाट मात्र अन्त्य गर्न सकिने भन्दै छोरीहरूको शिक्षामा विशेष ध्यान दिन आग्रह गरिन्।
कार्यक्रममा मधेस प्रदेशका विभिन्न स्थानीय तहका उपाध्यक्ष तथा उपप्रमुखहरूको सहभागिता रहेको थियो। सो अवसरमा छोरीलाई १२ कक्षा पढाएर २० वर्षपछि विवाह गर्ने अभिभावक, बुहारीलाई स्नातक तहसम्म अध्ययन गराउने परिवार तथा बिना दाइजो विवाह गर्ने जोडीलाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।
चन्द्रनगर गाउँपालिकाले बालविवाह न्यूनीकरण अभियानअन्तर्गत २० वर्षपछि विवाह गर्ने छोरीलाई विवाह मण्डपमै पुगेर नगद ५० हजार रुपैयाँसहित सम्मान गर्दै आएको छ। साथै कक्षा १२ सम्म अध्ययन गर्ने छोरीहरूलाई प्रोत्साहनस्वरूप एकमुष्ट ११ हजार रुपैयाँ प्रदान गर्ने कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जनाएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE