शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

गोरखाको आरुघाटमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६० भन्दा बढीको परीक्षण

Spread the love

आइतबार १० जेठ २०८३

गोरखा / क्यान्सर काउन्सिल नेपाल र शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरको आयोजनामा गोरखाको आरुघाट गाउँपालिका–२ मान्बुस्थित भवानी माध्यमिक विद्यालयमा दुई दिने एकीकृत निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ। शिविर एभरेष्ट बैंक लिमिटेड र आरुघाट गाउँपालिकाको सहकार्यमा सञ्चालन गरिएको हो।

शिविरमा आरुघाट गाउँपालिकाका वडा नं. १, २ र ३ का ६० भन्दा बढी स्थानीय बासिन्दाले सेवा लिएका छन्। दुई दिने शिविरमा १० जनाको मुटुको इको परीक्षण र २५० जनाको भिडियो एक्स–रे गरिएको आयोजकले जनाएको छ।

युरिन परीक्षण, मिर्गौला परीक्षणलगायतका सेवा निःशुल्क प्रदान गरिनुका साथै परीक्षणका आधारमा आवश्यक औषधीसमेत वितरण गरिएको थियो।

मुटुरोग विशेषज्ञ डा. सचिन लामिछानेका अनुसार ग्रामीण क्षेत्रका धेरैमा उच्च रक्तचापका कारण मुटु तथा मिर्गौलाको समस्या देखिएको छ। “समयमै स्वास्थ्य परीक्षण नहुँदा समस्या ढिलो पहिचान हुने गर्छ। ग्रामीण स्तरबाटै अभियानका रूपमा शिविर सञ्चालन गर्नुपर्छ,” उनले भने।

रेडियोलोजिस्ट डा. जी एलिनले ग्रामीण क्षेत्रमा पुगेर सेवा दिन पाउँदा खुसी लागेको बताए। शिविरमा डा. गौरव पन्त, डा. लोचन श्रेष्ठ, विवेक डंगोल, ब्रिजेश यादव लगायतका स्वास्थ्यकर्मी सहभागी थिए। उनीहरूले आगामी दिनमा पनि यस्ता शिविरमा सहभागी हुने प्रतिबद्धता जनाएका छन्।

शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यक्रम संयोजक डा. गौरव पन्तले क्यान्सर काउन्सिल नेपाललाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्य गर्दै शिविर सञ्चालन गर्ने बताए।

क्यान्सर काउन्सिल नेपालकी अध्यक्ष रुद्रलाल कडरियाले ग्रामीण क्षेत्रमा यस्ता शिविरले स्थानीयलाई ठूलो राहत दिने बताइन्। कार्यक्रम संयोजक दिनेश ढकालले पनि स्वास्थ्य सेवा जस्तो पवित्र कार्यमा सहभागी हुन पाउँदा खुसी व्यक्त गरे।

आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङले आयोजक संस्थाहरूलाई धन्यवाद दिँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गरे। उनले विद्यालयका प्रधानाध्यापक, शिक्षक, स्वयंसेवक विद्यार्थी र स्थानीयको सहयोगको पनि प्रशंसा गरे।

विद्यालयका कृषि प्रशिक्षक तथा र्‍यापर उत्तम रोस्यारा ‘Atom Soul’ ले विद्यालयमै शिविर हुँदा विद्यार्थीमा एकता र सामाजिक सेवाको भावना विकास हुने बताए। उनले गाउँमा रोग लागेपछि मात्र अस्पताल जाने प्रवृत्ति रहेकाले नियमित स्वास्थ्य परीक्षणको चेतना बढेको धारणा राखे।

शिविरमा शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रकी अङ्ग प्रत्यारोपण कोर्डिनेटर सरु कोजूले अङ्गदानको महत्त्वबारे जानकारी गराउँदै सबैलाई अभियानमा साथ दिन आग्रह गरिन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x