सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

क्यान्सर उपचारका अत्यावश्यक औषधिको हाहाकार, देशभरका बिरामी प्रभावित

  • 42
  •  
  •  
  •  
  •  
  •  
  •  
    42
    Shares

काठमाडौँ / नेपालका प्रमुख सरकारी अस्पतालहरूमा क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको गम्भीर अभाव देखिएको छ। किमोथेरापीमा प्रयोग हुने कार्बोप्लाटिन, सिस्प्लाटिन र अक्सालिप्लाटिनजस्ता औषधि नपाउँदा बिरामीहरूको उपचार प्रभावित भएको छ।

भक्तपुर क्यान्सर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत अस्पतालहरूमा ती औषधिको चरम अभाव रहेको छ।

भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेका अनुसार किमोथेरापीमा प्रयोग हुने औषधिको मौज्दात सकिएको दुई साताभन्दा बढी भइसकेको छ। “किमोथेरापीमा यीमध्ये कम्तीमा एउटा औषधि अनिवार्य प्रयोग गर्नुपर्छ। अहिले कुनै पनि उपलब्ध नहुँदा उपचारमा गम्भीर असर परेको छ,” उनले भने।

अस्पतालका अनुसार दैनिक करिब ७० जना बिरामीलाई ती औषधि आवश्यक पर्छ। औषधि अभावका कारण कतिपय बिरामीलाई अपूर्ण वा वैकल्पिक उपचार दिनुपर्ने अवस्था आएको चिकित्सकहरू बताउँछन्।

चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि विगत दुई महिनादेखि कार्बोप्लाटिन र सिस्प्लाटिन अभाव छ। निमित्त कार्यकारी निर्देशक डा. उत्तम नेपालका अनुसार दैनिक करिब २०० जना किमोथेरापी बिरामी प्रभावित भएका छन्।

औषधि अभावका कारण बिरामीहरू भारत तथा निजी औषधि पसलबाट अत्यधिक मूल्य तिरेर औषधि खरिद गर्न बाध्य भएका छन्। केही अस्पतालले अभाव समाधानका लागि विश्व स्वास्थ्य संगठनसँग समेत सहयोग मागेका छन्।

पुरानो सरकारी मूल्यका कारण आयात ठप्प
औषधि व्यवस्था विभागका सूचना अधिकारी किरण सुन्दर बज्राचार्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि सरकारले राजपत्रमा तोकेको पुरानो मूल्य संशोधन नगर्दा आयातकर्ताले औषधि ल्याउन सकेका छैनन्। उनले मूल्य तत्काल संशोधन गर्न प्राविधिक कठिनाइ रहेको बताउँदै मध्यमार्गी समाधान खोजी भइरहेको जानकारी दिए।

नेपाल औषधि आपूर्तिकर्ता संघका अध्यक्ष पवन आचार्यले भने सरकारको ढिलासुस्तीका कारण यस्तो अवस्था आएको आरोप लगाए। उनका अनुसार २०७२ सालमै तोकिएको मूल्यमा अहिले औषधि आयात गरेर बिक्री गर्न सम्भव छैन। संघले लामो समयदेखि मूल्य समायोजनको माग गर्दै आएको छ। source dcnepal

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x