सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

स्वास्थ्य निकायको लापरबाही : ९ करोडभन्दा बढीका औषधि म्याद गुज्रेर नष्ट

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

आइतबार ३ जेठ २०८३
काठमाडौ / सरकारी स्वास्थ्य संस्थाहरूले खरिद गरेका करोडौं रुपैयाँ बराबरका औषधि तथा औषधिजन्य सामग्री म्याद गुज्रेर नष्ट भएको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले स्वास्थ्य निकायहरूको कमजोर व्यवस्थापन र लापरबाहीका कारण राज्यलाई ठूलो आर्थिक क्षति पुगेको औंल्याएको हो।
प्रतिवेदनअनुसार आवश्यकता, खपत र मौज्दातको यथार्थ मूल्यांकन नगरी औषधि खरिद गर्दा ९ करोड ७ लाख १७ हजार रुपैयाँ बराबरका औषधि, किट तथा स्वास्थ्य सामग्री प्रयोगविहीन बनेका छन् ।
सबैभन्दा बढी औषधि म्याद गुजार्ने निकायमा स्वास्थ्य सेवा विभाग रहेको छ । विभागले खरिद गरेका २८ प्रकारका औषधि तथा सामग्रीमध्ये ४ करोड ७२ लाख २० हजार रुपैयाँ बराबरका सामग्री म्याद समाप्त भएपछि नष्ट गर्नुपरेको प्रतिवेदनमा उल्लेख छ । आवश्यकता भन्दा बढी खरिद, वितरण व्यवस्थापनको कमजोरी र नियमित अनुगमन नहुनु मुख्य कारण मानिएको छ ।
यस्तै, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले खरिद गरेका ६ प्रकारका औषधिमा ४७ लाख ७० हजार रुपैयाँ बराबरका औषधि प्रयोग नहुँदै म्याद गुज्रिएको पाइएको छ ।
सरकारी अस्पतालहरूमा पनि यस्तै अवस्था देखिएको छ । वीर अस्पतालले खरिद गरेका ६०१ प्रकारका औषधिमध्ये १ करोड ४३ लाख ७५ हजार रुपैयाँ बराबरका औषधि म्याद गुज्रेर नष्ट भएका छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले १ करोड १९ लाख ९६ हजार रुपैयाँ बराबरका औषधि नष्ट गरेको छ भने सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १ करोड २३ लाख ५६ हजार रुपैयाँ बराबरका औषधि प्रयोगविहीन बनेका छन् ।
महालेखाले औषधि खरिद गर्दा वास्तविक आवश्यकता, मौज्दात अवस्था र वितरण क्षमताको वैज्ञानिक विश्लेषण नगरी ठूलो परिमाणमा खरिद गर्ने प्रवृत्ति दोहोरिएको जनाएको छ । स्वास्थ्य विशेषज्ञहरूले कमजोर औषधि व्यवस्थापन प्रणालीका कारण राज्यको ठूलो रकम खेर जानुका साथै बिरामीले आवश्यक समयमा औषधि अभावको समस्या भोग्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन् ।
प्रतिवेदनमा आपूर्तिकर्तासँगको सम्झौताअनुसार म्याद नजिकिएका औषधि प्रतिस्थापन गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन नभएको पनि उल्लेख गरिएको छ ।
महालेखाले सम्बन्धित निकायलाई औषधि खरिद, भण्डारण तथा वितरण प्रणाली सुधार गर्न, म्याद नजिकिएका औषधि समयमै व्यवस्थापन गर्न र आपूर्तिकर्ताबाट प्रतिस्थापन सुनिश्चित गर्न निर्देशन दिएको छ । साथै, नेपाल औषधि ऐनअनुसार औषधि खरिद–बिक्री प्रक्रिया पारदर्शी, वैज्ञानिक तथा डिजिटल अनुगमन प्रणालीमार्फत सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ ।

source news of nepal

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x