सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

एमाले सचिवालय बैठक शनिबार, चुनावी समीक्षा र पुनर्गठन एजेन्डा बन्ने सम्भावना

  •  
  • 9
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

शुक्रबार १ जेठ २०८३
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले शनिबार केन्द्रीय सचिवालय बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली को भक्तपुरस्थित गुन्डु निवासमा दिउँसो १ बजे बैठक बस्ने एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।
अध्यक्ष ओलीको स्वास्थ्य पूर्ण रूपमा सामान्य नभइसकेकाले बैठक निवासमै राखिएको बताइएको छ । एमालेका उपमहासचिव लेखराज भट्ट ले बैठकको सूचना प्राप्त भए पनि औपचारिक एजेन्डाबारे जानकारी नभएको बताए ।
उनका अनुसार २१ फागुनमा सम्पन्न निर्वाचनको समग्र समीक्षा बैठकको मुख्य विषय बन्न सक्ने अनुमान गरिएको छ । पार्टीले यसअघि प्रदेश, जिल्ला र पालिका तहसम्म चुनावी समीक्षा गरेर प्रतिवेदन पठाउन निर्देशन दिएको थियो । ती प्रतिवेदन सचिवालयमार्फत केन्द्रीय समितिमा लैजाने तयारी गरिएको छ ।
चैतको पहिलो साता बसेको सचिवालय बैठकले चुनावी पराजयको समीक्षा गर्दै तलदेखि माथिसम्म प्रतिवेदन तयार पार्ने नीति लिएको थियो । तर अध्यक्ष ओली पितृशोक, गिरफ्तारी प्रकरण तथा हर्निया र पत्थरीको शल्यक्रियाका कारण अस्वस्थ भएपछि बैठकहरू प्रभावित बनेका थिए ।
एमाले महासचिव शंकर पोखरेल ले पार्टीका केन्द्रीय सदस्य, प्रदेश नेतृत्व, जिल्ला नेतृत्व तथा जनवर्गीय संगठनका पदाधिकारीसहित करिब तीन हजार व्यक्तिबाट लिखित सुझाव संकलन गरेका थिए । ती सुझाव र समीक्षा प्रतिवेदनका आधारमा चुनावी समीक्षा दस्तावेज तयार पारिएको बताइएको छ ।
यता पार्टीभित्र चुनावमा व्यहोरेको क्षतिको नैतिक जिम्मेवारी लिँदै अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने आवाज पनि उठ्दै आएको छ । इतर समूहले पार्टी पुनर्गठनको एजेन्डालाई बलियो रूपमा उठाउने तयारी गरेको बताइएको छ ।
उपाध्यक्ष विष्णु पौडेल, महासचिव पोखरेललगायत नेताहरू पुनर्गठनको पक्षमा खुल्ने वा नखुल्ने विषय भने अझै स्पष्ट भइसकेको छैन ।
पूर्वराष्ट्रपति विद्या देवी भण्डारी र नेता ईश्वर पोखरेल निकट समूहले भने केन्द्रीय समिति बैठकमार्फत पार्टीलाई माथिदेखि तलसम्म पुनर्गठन गर्न दबाब दिने रणनीति अघि बढाइरहेको बताइएको छ ।
यसैबीच बुद्धिजीवी परिषद् का अध्यक्ष गजेन्द्र थपलियासहित केही युवानेताले पुनर्गठन अभियानलाई अलग रूपमा अघि बढाएका छन् । उनीहरूले आवश्यकता परे विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियानसमेत चलाउने संकेत दिएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x