पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : देशका विभिन्न स्थानमा वर्षा, चट्याङ र हिमपातको सम्भावना

बुधबार ३० बैशाख २०८३
काठमाडौं / हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बाँकी क्षेत्रमा आंशिक बदली देखिएको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेससहित अन्य हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने जनाइएको छ।
यस्तै, सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई जिल्लाका केही स्थानमा हुरीबतास, असिना तथा मेघगर्जन–चट्याङको सम्भावना रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।
आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। ती प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE