देशभर मिश्रित मौसम : केही क्षेत्रमा वर्षा, तराईमा तातो लहरको सम्भावना

सोमबार ११ जेठ २०८३
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको छ । यसका कारण देशका विभिन्न क्षेत्रमा आंशिकदेखि सामान्य बदली तथा वर्षाको अवस्था देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेश का हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहेको छ । साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का हिमाली क्षेत्रमा पनि बादल लागेको छ।
त्यसैगरी मधेश प्रदेश सहित लुम्बिनी प्रदेश का पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।
हाल कोशी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ । बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भएको जनाइएको छ।
दिउँसोको मौसम
सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहने अनुमान गरिएको छ । मधेश प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश भू–भागमा मौसम सफा रहनेछ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
यसैबीच सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा तातो दिन तथा तराई क्षेत्रमा तातो लहरको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
रातिको मौसम
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली भू–भागमा सामान्य बदली रहनेछ । अन्य पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE