पर्बतको जलजलामा ७५० जनाको निःशुल्क मुटु तथा मृगौला परीक्षण स्वास्थ्य शिविर सम्पन्न

मङ्गलबार २९ बैशाख २०८३
पर्बत जिल्लाको जलजला गाउँपालिका मा २०८३ वैशाख २६ गते शनिबार एकदिने निःशुल्क मुटु तथा मृगौला परीक्षण स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्न भएको छ। “मुटु जोगाऔँ, काठमाडौं” तथा जलजला गाउँपालिका को संयुक्त आयोजनामा सम्पन्न शिविरबाट पर्बतसहित छिमेकी जिल्ला म्याग्दी र बागलुङका गरी ७५० जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन्।
“मुटु जोगाऔँ” संस्थाका महासचिव शेरबहादुर रानाका अनुसार शिविरमा ४६७ जनाको ईसीजी, २६३ जनाको इकोकार्डियोग्राफी गरिएको थियो भने करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको निःशुल्क औषधि वितरण गरिएको थियो।
शिविरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल का वरिष्ठ मृगौला रोग विशेषज्ञ प्रा. डा. दिव्या सिंह शाह, डा. महेश सिग्देल तथा डा. अभिषेक मास्केले मृगौला रोगसम्बन्धी परीक्षण गरेका थिए। प्रा. डा. दिव्या सिंह शाहका अनुसार परीक्षणका क्रममा करिब ६५ जनामा मृगौलासम्बन्धी समस्या देखिएको थियो।
त्यसैगरी मनमोहन कार्डियो थोरेसिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर का कार्यकारी निर्देशक तथा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. रत्नमणि गजुरेल, विभागीय प्रमुख प्रा. डा. अनिल भट्टराई, उप–प्राध्यापक डा. प्रभात खाकुरेल, उप–प्राध्यापक डा. सूर्य देवकोटा, डा. युना श्रेष्ठ, डा. मदन ज्ञवाली, डा. सुदीप पराजुली लगायतका चिकित्सक टोलीको सहभागिता रहेको थियो। साथै मेडिकल अफिसर डा. संगम शाह, डा. श्रेया श्रेष्ठ तथा डा. प्रतिकमणि गजुरेलको पनि उपस्थिति रहेको थियो।
प्रा. डा. अनिल भट्टराईका अनुसार शिविरमा १७ जनामा जटिल मुटुरोगको समस्या देखिएकाले थप उपचारका लागि मनमोहन कार्डियो थोरेसिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रिफर गरिएको छ।
राजु प्रसाद आचार्य को अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दीपक आचार्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए। प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमले गाउँपालिकाका बासिन्दालाई लक्षित गरी आयोजना गरिएको शिविरबाट अन्य जिल्लाका नागरिकसमेत लाभान्वित भएको उल्लेख गर्दै कार्यक्रम अत्यन्त फलदायी बनेको बताए।
कार्यक्रमको समापनमा गाउँपालिका अध्यक्ष आचार्यले शिविर सफल बनाउन सहयोग गर्ने “मुटु जोगाऔँ” संस्था, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मणिपाल अस्पताल पोखरा, नेपाल कार्डियो डायबेटिज एण्ड थाइराइड सेन्टर लगायत सम्पूर्ण चिकित्सक टोली तथा औषधि उपलब्ध गराउने औषधि कम्पनीहरूलाई मायाको चिनोसहित विशेष धन्यवाद व्यक्त गरेका थिए।

RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE