शनिबार ३ फागुन २०८१
काठमाडौं / नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेपालीहरुको अरु दूरदिनको समय आउने खतरा रहेको बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान परिस्थितिमाथि क्रान्तिकारी हस्तक्षेत्र नभएको खण्डमा नेपालीहरुको भविष्य धेरै अध्यारो रहेको बताएका हुन् ।
वर्तमान सरकारले आर्थिक स्थिति सुध्रिदैछ, देश बन्दैछ भनेर भ्रम फैलाएको उनको दाबी छ । देश बन्दैछ भनेर भ्रम फैलाउन सत्तापक्षले पल्टन नै खडा गरेको उनको टिप्पणी छ । उनले उक्त पल्टनमा रहेका सत्ताधारी नयाँ–नयाँ जर्नेलहरुले पनि त्यही नारामा रटान लगाइरहेको बताए । देश बन्दैछ र आर्थिक अवस्था सुध्रिदै छ भनेर सरकारले कुनै आधार दिन नसकेको उनले बताए । महासचिव भुसालले केपी शर्मा ओली प्रधानमन्त्री बनेर र कांग्रेस सभापति शेरबहादुर देउवा लाइनमा रहेको आधारमा देश बन्दैछ भनेर विश्वास गर्न नसकिने बताए ।
‘बन्दैछ, बन्दैछ भन्ने एउटा हल्ला चलाउँदैछन् । देश बन्दैछ रे, किनभने ओलीजी बालुवाटारमा हुनुहुन्छ । देश बन्दैछ रे किनभने देउवाजी बालुवाटारको लाइनमा हुनुहुन्छ । त्यो भन्दाअर्को कुनै तर्क छैन,’– उनले भने ।
साथै, कांग्रेस–एमालेले संविधान संशोधन पार लगाउन नसक्ने उनले बताए । एउटा अध्यादेश पार लगाउन ओली र देउवाको दाँतबाट पसिना आइरहेको बताउँदै उनले संविधान संशोधनको विषय किमार्थ पार लगाउन नसक्ने दाबी गरे । ‘संविधान छोएर पार लगाउँछन् ? एउटा अध्यादेशले दाँतबाट पसिना निक्लेको छ, यिनले संविधान छोएर पार लगाउलान् ? किमार्थ सक्दैनन् । यो कुरा प्रष्ट छ,’– उनले भने ।
WRITE COMMENTS FOR THIS ARTICLE