सरकारी वेबसाइटमा अपाङ्गमैत्री सुविधा लागू

मङ्गलबार ८ बैशाख २०८३
काठमाडौं / सूचना प्रविधि विभाग ले सरकारी वेबसाइटहरूलाई सबै नागरिकका लागि सहज, पहुँचयोग्य र प्रयोगमैत्री बनाउने उद्देश्यले नयाँ वेब पहुँच सुविधा कार्यान्वयनमा ल्याएको छ।
सरकारी एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली (जिआइएमडब्लुएस) अन्तर्गत सुरु गरिएको यस पहल विशेषगरी अपाङ्गता भएका तथा सहायक प्रविधिमा निर्भर प्रयोगकर्तालाई लक्षित गरिएको विभागका महानिर्देशक श्रीचन्द्र साहले जानकारी दिएका छन्।
नयाँ प्रणालीअनुसार अब सरकारी वेबसाइटहरू ‘किबोर्ड’को प्रयोगबाट मात्र पनि सजिलै सञ्चालन गर्न सकिनेछ। प्रयोगकर्ताले ‘माउस’ बिना नै वेबसाइटका सबै भागमा पहुँच पाउनेछन्। ‘स्किप नेभिगेसन’ लिंकको व्यवस्था गरिएकाले किबोर्ड तथा ‘स्क्रिन रिडर’ प्रयोग गर्नेले सिधै मुख्य सामग्रीमा पुग्न सक्नेछन्।
त्यसैगरी, वेबसाइटमा राखिएका तस्बिर, लोगो र चिह्नहरूमा ‘अल्ट टेक्स्ट’ समावेश गरिएको छ, जसले स्क्रिन रिडर प्रयोगकर्तालाई सामग्री बुझ्न सहज बनाउनेछ। फाराम भर्दा आउने त्रुटि सन्देश र सुझावहरू पनि अब स्पष्ट रूपमा सुन्न र बुझ्न सकिने गरी तयार गरिएको छ।
सर्च र सम्पर्क फारामजस्ता सबै इनपुट क्षेत्रमा स्पष्ट नाम र चिन्ह राखिएको छ। साथै, किबोर्ड प्रयोगकर्ताले आफू वेबसाइटको कुन भागमा छन् भन्ने थाहा पाउने गरी दृश्य संकेतहरू पनि थपिएको विभागले जनाएको छ।
फाराम पेश गरेपछि प्राप्त हुने सन्देशहरू समेत स्क्रिन रिडरमार्फत सजिलै थाहा पाउन सकिने व्यवस्था गरिएको छ। यी सुधारहरू सामान्य प्रयोगकर्तालाई धेरै देखिन नसक्ने भए पनि सहायक प्रविधिमा निर्भर व्यक्तिका लागि अत्यन्त उपयोगी हुने बताइएको छ।
विभागका अनुसार यस्ता पहुँचमैत्री सुधारहरूले सबै नागरिकलाई समान रूपमा डिजिटल सेवामा पहुँच पुर्याउने लक्ष्यलाई थप मजबुत बनाउनेछन्। साथै, यसले समावेशी र प्रविधिमैत्री शासन प्रणाली निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE