कांग्रेसभित्र बढ्दो किचलो : कारबाहीले समाधान कि झन् विभाजन?

बुधबार २ बैशाख २०८३
काठमाडौं / नेपाली कांग्रेस यतिबेला आन्तरिक विवादको गहिरो भुमरीमा फस्दै गएको देखिन्छ। फागुन २१ को निर्वाचन परिणामले पार्टीलाई अपेक्षाविपरीत कमजोर बनाएपछि सुधारको बाटो समात्ने अपेक्षा गरिएको थियो, तर त्यसको सट्टा किचलो झन् चर्किँदै गएको छ।
विशेष महाधिवेशनमार्फत सभापतिमा आएका गगन थापा ले पार्टीलाई नयाँ दिशामा लैजाने प्रयास गरिरहेका छन्, तर त्यो प्रयासले अपेक्षित परिणाम दिन सकेको छैन। पार्टीभित्र पुरानो संरचना र नयाँ नेतृत्वबीचको टकराव अझै समाधान हुन सकेको छैन। यही बीचमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का माथि कारबाहीको तयारी सुरु हुनु विवादलाई थप चर्काउने संकेतका रूपमा हेरिएको छ।
खड्काले पार्टीको आधिकारिक लेटरहेड प्रयोग गर्दै वक्तव्य जारी गरेपछि अनुशासन समिति र केन्द्रीय कार्यसम्पादन समितिले कारबाही प्रक्रिया अघि बढाएको हो। सानेपामा बस्ने बैठकअघि नै अनुशासन समितिले निर्णय लिने तयारीले कांग्रेसभित्रको शक्ति संघर्ष खुला रूपमा सतहमा आएको देखिन्छ।
यसबीच राजनीतिक विश्लेषकहरूले भने केवल कारबाहीले समस्या समाधान नहुने चेतावनी दिएका छन्। विश्लेषक डा. सुरेन्द्र खतिवडा का अनुसार कांग्रेसभित्र दुई तहको समस्या देखिन्छ—एकातिर नयाँ नेतृत्वले परिवर्तन खोजिरहेको छ भने अर्कोतिर पुरानो संरचना र मानसिकताले त्यसलाई अवरोध गरिरहेको छ। उनी भन्छन्, नेतृत्व र पुराना पंक्तिबीचको विश्वासको खाडल गहिरिँदै गएको छ, जुन कारबाहीले मात्र पूरिन सक्दैन।
त्यस्तै, प्रा. अशोक कोइराला ले कांग्रेसको समस्या संरचनात्मक रूपमा गहिरो रहेको उल्लेख गर्दै समयअनुसार रूपान्तरण हुन नसक्दा पार्टी जनताबाट टाढिँदै गएको बताएका छन्। उनका अनुसार अहिलेको कारबाहीको तयारीले असन्तुष्टि घटाउने होइन, झन् भड्काउने जोखिम बढी छ।
विश्लेषक खगेन्द्र भट्टराई ले पनि पार्टीभित्रको गुटबन्दी र आन्तरिक झगडाले कांग्रेसलाई जनताका मूल मुद्दाबाट विचलित बनाएको टिप्पणी गरेका छन्। उनी भन्छन्, व्यक्तिगत महत्वाकांक्षा र शक्ति संघर्षका कारण साधारण कार्यकर्ता नै निराश बनेका छन्, जसले पार्टीको आधार कमजोर बनाउँदै लगेको छ।
अनुशासन समितिका संयोजक तारामान गुरुङ ले भने पार्टी अनुशासन नमान्ने जो कोहीलाई कारबाही गरिने स्पष्ट पारिसकेका छन्। सभापति थापाले पनि अनधिकृत गतिविधिलाई सहन नसकिने संकेत दिएका छन्। तर, वरिष्ठ पत्रकार हरिहर विरही का अनुसार कांग्रेसको इतिहास विवाद र विभाजनसँग जोडिएको भए पनि वर्तमान अवस्थामा जनताले पार्टीभित्र एकता खोजिरहेका छन्। उनी भन्छन्, यदि अहिले पनि संवादको बाटो नअपनाइए पार्टी अझ गहिरो संकटमा पर्न सक्छ।
समग्रमा हेर्दा नेपाली कांग्रेस भित्रको संकट केवल व्यक्तिविशेषको टकराव मात्र होइन, संरचनागत कमजोरी, नेतृत्वबीचको अविश्वास र संवादहीनताको परिणाम हो। यस्तो अवस्थामा कारबाहीले तत्काल सन्देश त दिन सक्छ, तर दीर्घकालीन समाधानका लागि सहमति, संवाद र एकताको राजनीति अपरिहार्य देखिन्छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE