शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

आजदेखि संसद् अधिवेशन सुरु, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुने

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

बिहीबार १९ चैत २०८२
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएपछि संघीय संसद्को पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रतिनिधिसभाको बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा बस्नेछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा चैत १६ गते संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए । संसद् सचिवालयका अनुसार बैठक सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
संविधानअनुसार निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र संसद् अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । निर्वाचन आयोगले चैत ५ गते राष्ट्रपतिसमक्ष निर्वाचनको अन्तिम प्रतिवेदन बुझाएको थियो ।
२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमत रहेको छ । त्यसैगरी नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, श्रम संस्कृति पार्टी, राप्रपा तथा एक स्वतन्त्र सांसदको उपस्थिति रहेको छ ।
तीन अध्यादेश पेस हुँदै
आजको बैठकमा तीन वटा अध्यादेश पेस गरिने कार्यसूची छ । गृहमन्त्री सुधन गुरुङले
मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२
नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२
पेस गर्ने सम्भावित कार्यक्रम छ ।
बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र तथा प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी विवरण पढेर सुनाउनेछन् ।
यस्तै, प्रतिनिधिसभाले आफ्नो नियमावली नबनाएसम्मका लागि हालको नियमावली, २०७९ अनुसार कामकारबाही अघि बढाउने प्रस्ताव पनि प्रस्तुत गरिनेछ । सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न सदस्य मनोनयन गर्ने कार्यसूची समेत रहेको छ ।
अधिवेशन सुरुको अवसरमा दलका नेताहरूले मन्तव्य राख्ने कार्यक्रम तय गरिएको छ । साथै, सभामुख पदको निर्वाचन मिति पनि तोकिनेछ ।
बैठकको अन्त्यमा पूर्व संविधानसभा तथा राष्ट्रियसभाका केही सदस्यहरूको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरिने कार्यसूची रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x