सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

तराईका जिल्लामा आज होली मनाइँदै

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

मङ्गलबार १९ फागुन २०८२
सप्तरी / रङहरूको पर्व होली आज देशका तराई क्षेत्रका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ। हिमाली तथा पहाडी जिल्लामा फागु पूर्णिमाको अवसरमा सोमबार होली मनाइएको थियो भने परम्पराअनुसार तराईका जिल्लामा आज यो पर्व मनाउने चलन रहेको छ।
आज सप्तरी,नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), झापा, मोरङ, सुनसरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर लगायतका जिल्लामा रङ अबिर खेल्दै होली मनाइँदैछ।
मगर तथा थारू समुदायको बाक्लो बसोबास रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा होलीलाई विशेष महत्वका साथ मनाउने परम्परा छ। आपसी भेदभाव भष्म गरी एकअर्कालाई रङ लगाउँदै उल्लास साटासाट गर्ने पर्वका रूपमा होलीलाई लिने गरिन्छ।
पण्डित त्रिलोचन भुर्तेलका अनुसार होली समानता, सद्भाव र भाइचाराको प्रतीक पर्व हो। “असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको विजयको सन्देश दिने यो पर्वले अनेकतामा एकता कायम गर्न प्रेरणा दिएको छ,” उनले बताए।
प्राचीनकालमा वसन्तोत्सवका रूपमा सुरु भएको यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका र ढुण्ढा आदिसँग जोडिएर फागु, फगुवा, होली, होरी जस्ता नामबाट मनाउन थालिएको धार्मिक विश्वास छ। ढोल, डम्फु र मृदङ्ग बजाउँदै नाचगान, खानपिन र मनोरञ्जनका साथ मनाइने होलीले सामाजिक सद्भाव बढाउने विश्वास गरिन्छ।
पहाडी जिल्लामा सोमबार सार्वजनिक बिदा दिइएको भए पनि तराई क्षेत्रमा आज सार्वजनिक बिदा दिइएको छ।
होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको जनाएको छ। कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले अनुमतिबिना रङ दल्ने, लोला हान्ने, झैझगडा गर्ने वा अभद्र व्यवहार गर्नेहरूलाई कारबाही गरिने चेतावनी दिए।
प्रहरीले अपरिचित व्यक्तिसँग होली नखेल्न, कसैको इच्छाविपरीत रङ नदल्न, हानिकारक केमिकल रङ प्रयोग नगर्न, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन तथा ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ। कुनै आपराधिक गतिविधि देखिएमा प्रहरीको हटलाइन नम्बर १०० मा तुरुन्त सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x