सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

आज प्रजातन्त्र दिवस, देशैभरि सार्वजनिक बिदा

  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares

आज ७५ औँ प्रजातन्त्र दिवस। महान् सहिदहरूको बलिदानीपूर्ण संघर्षको वलमा २००७ साल फागुन ७ गते नेपालमा प्रजान्त्र स्थापना भएको थियो।

सहिद दशरथ चन्द, धर्मभक्त माथेमा, गंगाला श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसी हाँसी आफ्नो जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको सम्झना गर्दै हरेक वर्ष नेपालमा विविध कार्यक्रमसहित प्रजातन्त्र दिवस मनाइन्छ।

प्रजातन्त्र दिवसको अवसरमार सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। प्रजातन्त्र दिवसको अवसरमा आज देशैभरि सरकारी र गैरसरकारी निकायले विभिन्न कार्यक्रम गर्दैछन्।

प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिले आज बिहान सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति रामचन्द्र पौडेलको सहभागीतामा विशेष कार्यक्रम गर्दैछ।

नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ।

प्रजातन्त्र दिवसकै उपलक्ष्यमा राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनहरूमा योगदान गर्ने सबैप्रति सम्मान प्रकट गरेका छन्।

पौडेलले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भन्ने कामना पनि गरेका छन्र

विसं २००७ को क्रान्ति सफल भएर निरङ्कुशताविरुद्ध  बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरूप मानवअधिकार तथा नागरिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरूप प्रत्येक वर्ष फागुन ७ मा प्रजातन्त्र दिवस मनाइन्छ।

मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा अङ्कित भएको राष्ट्रपति पौडेलको भनाइ छ।

लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनता आफैँले बनाएको वर्तमान संविधान निर्माणको एउटा महत्त्वपूर्ण जग विसं २००७ को क्रान्ति थियो भन्ने कुरालाई बिर्सन नहुने बताउँदै पौडेलले प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्त्व स्थायी बनाउनाका साथै सहिदहरूको अमर गाथा पनि सदैव स्मरण गराउने उल्लेख गरेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x