सिन्धुपाल्चोक–१ मा रास्वपाको शक्ति प्रदर्शन: ५८८ जना नेता–कार्यकर्ता एकैदिन प्रवेश

बिहीबार ७ फागुन २०८२
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ मा विभिन्न दल परित्याग गरी ५८८ जना नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित विशेष कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले तथा नेपाल कम्युनिस्ट पार्टीसँग आबद्ध नेता–कार्यकर्ताहरूले सामूहिक रूपमा रास्वपा रोजेका हुन्।
प्रवेश गर्नेहरूमध्ये काँग्रेसकी महिला नेतृ लिला नेपाल, एमाले नेता जेपी सिल्वाल, नेकपा नेता चिनलाल श्रेष्ठलगायत रहेका छन्। रास्वपा सिन्धुपाल्चोकका सचिव चक्रपाणी सिग्देलका अनुसार पछिल्लो समय जिल्लामा पार्टीप्रति आकर्षण उल्लेख्य रूपमा बढेको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा रास्वपा उपसभापति डिपी अर्यालले देशको वर्तमान राजनीतिक अवस्था “बनाउने र बन्न नदिने शक्तिबीचको संघर्ष” रहेको उल्लेख गर्दै परिवर्तनका लागि रास्वपालाई जिताउन सबैलाई सक्रिय हुन आह्वान गरे। उनले आफ्नो सम्पर्कमा रहेका मतदातासँग प्रत्यक्ष संवाद गरी ‘घण्टी’ चुनाव चिन्हका उम्मेदवारलाई समर्थन गर्न आग्रह गरे।
त्यसैगरी, रास्वपा समानुपातिक उम्मेदवार प्रमोद न्यौपानेले पार्टीका शुभेच्छुक र सदस्यहरूलाई आफू नै उम्मेदवार भएको भावना राखी चुनावी अभियानमा जुट्न निर्देशन दिए। उनले देशभर रास्वपाको बहुमत सुनिश्चित गर्न संगठन सुदृढीकरण र घरदैलो अभियानलाई तीव्र बनाउनुपर्ने बताए।
सिन्धुपाल्चोक–१ का रास्वपा उम्मेदवार भरत पराजुलीले स्थानीय वाचापत्र सार्वजनिक गर्दै मतदातामाझ रास्वपाको पक्षमा सकारात्मक वातावरण बनिसकेको दाबी गरे। उनले फागुन २१ गते निर्धक्क भएर मतदान गर्न समर्थकलाई आग्रह गर्दै कुनै पनि प्रकारको दबाब वा प्रभावमा नपर्न अपिल गरे।
रास्वपा नेताहरूले परम्परागत राजनीतिक अभ्यासप्रति जनतामा असन्तुष्टि बढ्दै गएको उल्लेख गर्दै सुशासन, पारदर्शिता र जवाफदेहिताको एजेन्डाका कारण नयाँ पुस्ता तथा परिवर्तनकामी नागरिकहरू पार्टीतर्फ आकर्षित भइरहेको दाबी गरेका छन्।

RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE