आइतवार, माघ १९, २०८२
Sunday, February 1, 2026

मधेस प्रदेश : मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

  • 28
  •  
  •  
  •  
  •  
  •  
  •  
    28
    Shares

 

बिहीबार ३ पुस २०८२ 

काठमाडौँ – मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत भोलि लिने भएका छन्।

मुख्यमन्त्री यादवले मधेस प्रदेश सभामा विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गर्दै प्रदेशसभा सचिवालयलाई पत्र पठाएका थिए। मुख्यमन्त्रीको सचिवालयका अनुसार संविधानको धारा १६८ अनुसार विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभामा पत्राचार गरिएको हो।

संविधानमा मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र अनिवार्य रूपमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

मुख्यमन्त्री यादव मङ्सिर १९ गते नेपाली काँग्रेसका संसदीय दलका नेताका हैसियतमा सात दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रदेशसभामा विद्यमान अवस्थाअनुसार मुख्यमन्त्री यादवले सहजै विश्वासको मत प्राप्त गर्ने अनुमान गरिएको छ। विश्वासको मत प्राप्त गरेपछि मधेस प्रदेश सरकारको कार्यकाल थप स्थिर हुने र बजेट कार्यान्वयन, विकास निर्माण तथा सुशासनका कार्यमा सरकार अझ सक्रिय हुने अपेक्षा गरिएको छ।

यसैबीच मधेस प्रदेशसभाको सभामुखका लागि यही पुस ६ गते निर्वाचन हुने भएको छ। प्रदेश सभा बैठकमा उपसभामुख बबिता राउत ईशरले सभामुख निर्वाचनको मिति तय भएको बताए। प्रदेश सभाको सभामुख पद रिक्त रहेकाले प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७ बमोजिम निर्वाचन प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए।

निर्वाचनका लागि पुस ५ गते सभामुख निर्वाचनसम्बन्धी सूचना प्रकाशन गर्न प्रदेश सभाका सचिव वासुप्रसाद कोइरालालाई निर्देशन दिइएको छ। बुधबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख ईशरले राष्ट्रपति कार्यालय, प्रदेश प्रमुखको कार्यालय तथा सर्वोच्च अदालतबाट प्राप्त विभिन्न विषयका पत्रहरू बैठकमा पढेर सुनाएका थिए।

प्रदेश सभाको अर्को बैठक पुस ४ गते शुक्रबार साँझ ४ बजे बस्ने जनाइएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x