आजदेखि ठूला सभा–जुलुस गर्न पाइने, यस्तो छ निर्वाचन आचारसंहिता

सोमबार ४ फागुन २०८२
काठमाडौं / प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाइने भएको छ।
मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा तथा सञ्चारमाध्यममार्फत निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने प्रावधानअनुसार आजदेखि फागुन १८ गते राति १२ बजेसम्म दल तथा उम्मेदवारहरूले प्रचार–प्रसार गर्न पाउनेछन्।
निर्वाचन आयोगले निर्वाचनको निष्पक्षता र मर्यादालाई उच्च प्राथमिकतामा राखेर आचारसंहिताको पूर्ण पालना गर्न सबै दल, उम्मेदवार तथा सरोकारवालालाई आग्रह गरेको छ। आचारसंहिताभित्र रहेर उम्मेदवारहरूले मतदातासमक्ष औपचारिक रूपमा मत माग्न सक्नेछन्।
आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनका लागि विभिन्न संयन्त्र परिचालन गरिसकेको जनाएको छ। उल्लङ्घनका घटनामा पत्र काटेर स्पष्टीकरण सोध्ने, आवश्यक परे कानुनी कारबाही अघि बढाउने चेतावनी पनि दिएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लङ्घनमा ‘शून्य सहनशीलता’ नीति अवलम्बन गरिएको जानकारी दिए। उल्लङ्घन प्रमाणित भएमा सचेतना, जरिवाना वा उम्मेदवारी खारेजीसम्मको व्यवस्था रहेको उल्लेख गरिएको छ।
दल तथा उम्मेदवारले तोकिएको मापदण्डअनुसार पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यममार्फत विज्ञापन गर्न सक्नेछन्। साथै, आमसभा वा कोणसभा गर्दा मञ्च तयारी लगायतको खर्च विवरण सम्बन्धित उम्मेदवारले आफैं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा बुझाउनुपर्नेछ।
निर्वाचन अवधिमा कुनै पनि दल वा उम्मेदवारविरुद्ध सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट मिथ्या सूचना, दुष्प्रचार वा द्वेषपूर्ण अभिव्यक्ति फैलाउन नपाइने आयोगले स्पष्ट पारेको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE